ठूलो परिमाणको लागू औषध सहित एक पक्राउ

पुस १, २०७५ | भैरहवा

नेपालको विभिन्न स्थानमा लागू औषध आपूर्ति गर्ने कार्यमा संलग्न रहेको अभियोगमा रुपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नवलपरासीको रामग्राम नगरपालिका–१८ निवासी दुर्गा प्रसाद चौधरीलाई ठूलो परिमाणको लागू औषध सहित प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट दुई/दुई एमएल परिमाणको ३ हजार गोटा डाइजेपाम, नुफिन र फेनारगन लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । 

फलफूलको कार्टुनमा लागू औषध लुकाएर लैजाँदै गरेको अवस्थामा चौधरीलाई प्रहरीले सिद्धार्थनगर नगरपालिका –४ गल्लामण्डिबाट पक्राउ गरेको हो । बरामद गरिएका लागूऔषध फलफूल सहितको कार्टुन भित्र राखेर काठमाडौं–पोखरा लगायका स्थानमा पुग्ने गरेको रुपन्देहीका एसपी हृदय थाापाले बताउनुभयो । 

पक्राउ परेका चौधरीले लागू औषध कारोबारमा अन्य तीन जनाको संलग्नता रहेको बयान दिएपछि उनीहरुको समेत खोजीकार्य जारी राखिएको एसपी थापाले बताउनुभयो । 

एसपी थापाका अनुसार, लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा चौधरीलाई पक्राउ गरिएको हो । पक्राउपछि अदालतबाट म्याद थप लिइ हिरासतमा राखेर चौधरीमाथि अनुसन्धान सुरु गरिएको छ ।

सिमावर्ती भारतबाट लुकाएर ल्याइएका उक्त लागू औषध भैरहवामा संकलन गरी ठूलो परिमाणमा अन्यत्र आपूर्ति हुने गरेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया