बुद्धको मूर्ति चोरीको आरोपमा डोल्पाबाट ४ पक्राउ 

पुस २२, २०७५ | डोल्पा

ऐतिहासिक बुद्धको मूर्ति चोरीको आरोपमा डोल्पाबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकास्थित रापा गुम्बाबाट मूर्ति चोरेको आरोपमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले शे फोक्सुण्डो गाउँपालिका ४ का ४१ वर्षीय उर्केन पासाङ गुरुङ, ४३ वर्षीय पासाङ लुण्डुप गुरुङ, डोल्पो बुद्ध गाउँपालिका ३ का छिरिङ दावा गुरुङ र डोल्पो बुद्ध गाउँपालिका १ का ४१ वर्षीय झ्याम्पा छुल्डिम लामालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

रापा गुम्बाका ऐतिहासिक मूर्तिहरु ७ वर्ष अघि चोरेर बेचेको र ती मूर्तिको ठाउँमा नयाँ उस्तै मूर्तिहरु बनाएर राखेको स्वीकार्दै केही महिना अघि चोरिएका मूर्तिहरु त्यही नक्कली भएको उनीहरुको बयानबाट खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक अवदेश विष्टले बताउनुभयो ।

सक्कली मूर्ति ७ वर्ष अघि आफूले चोरेको पक्राउ परेका एकले स्वीकार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी नायव उपरिक्षक विष्टले अन्य विभिन्न गुम्बाहरुबाट हराएका ऐतिहासिक तथा पुरातात्विक मूर्तिहरु चोरी गर्नेको खोजी भइरहेको जानकारी दिनुभयो । 


प्रतिक्रिया