सीएमसी नेपाल आउन मानेन

रेडियो कान्तिपुर संवाददाता

माघ ४, २०७५ | काठमाडौं

मेलम्ची खानेपानी आयोजनाको प्रमुख ठेकेदार इटालियन कम्पनी सीएमसी काममा नफर्किदा आयोजना अन्योलमा परेको छ । क्रिसमस मनाउन भन्दै स्वदेश फर्किएको सीएमसीका कर्मचारीले नेपाल बाहिर वार्ताको सर्त राखेपछि आयोजनाको काम ठप्प भएको हो । 

गत मंसिर २९ गते आयोजनास्थल छाडेको प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेकोसहित ८ जनाको टोलीलाई क्रिसमस मनाउन भन्दै सरकारले स्वदेश जाने अनुमति दिएको थियो  । आयोजना अलपत्र पारेर भाग्न खोजेको भन्दै उनीहरुलाई सरकारले केही दिन नियन्त्रणमा लिएपनि फर्कने सर्तमा इटली उड्न दिएको थियो । 

काममा फर्कने–नफर्कने बारे कुनै जानकारी नदिए पनि उनीहरुले नेपाल बाहिर वार्ताको सर्त राखेको मेलम्ची खानेपानी आयोजना प्रमुख सुर्य कँडेलले जानकारी दिनुभयो । कँडेलले भन्नुभयो, हामीले उनीहरूलाई विभिन्न चरणमा इमेलमार्फत पत्र पनि पठाएका छौँ तर उनीहरूले कुनै पनि इमेलको चित्तबुझ्दो र जिम्मेवार जवाफ पठाएका छैनन् ।

यद्यपी पछिल्लो एउटा जवाफमा भने सीएमसीले आफू छलफलका लागि तयार रहेको तर सो छलफल नेपालमा नभई नेपालबाहिर हुनुपर्ने बताएको कँडेलले बताउनुभयो । यद्यपि उनीहरुको सो प्रस्तावलाई नेपाली पक्षले अस्वीकार गरेको छ।  इटालियन कम्पनी सीएमसीले मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर सुरुङ खन्ने, मुहानमा मुख्य र सहायक बाँध बनाउने, सुरुङभित्र ढलान गर्ने, भेन्टिलेसनको काम सहित सुरुङको अन्तिम बिन्दु सुन्दरीजलमा भल्भ गेट राख्ने, सुरुङबाट प्रशोधन केन्द्रसम्म पानी पुर्‍याउनका लागि पाइप राख्ने तथा सुरुङभित्रको सफाइ लगायतको ठेक्का पाएको  थियो ।

जसमध्ये सीएमसीले मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौताअनुसार गर्नुपर्नेमध्ये झण्डै ८० प्रतिशत काम सकेको थियो । बाँकी कामका लागि आफ्नो कम्नपी नै टाट पल्टेको भन्दै उसले ठेक्का ताड्ने आशयको पत्र सरकारलाई बुझाएको थियो तर सरकारले सो पत्र बुझेको भने छैन ।

अहिले नै अर्को ठेकेदारलाई निर्माण गर्ने जिम्मा दिए  आयोजना सम्पन्न गर्न थप २ वर्ष लाग्ने भएकाले पनि अर्को ठेकेदारको विकल्पको सट्टा सरकार सीएमसीलाई नै मनाउने कसरतमा लागेको हो । कँडेलका अनुसार आजसम्मको समयसीमा दिएर सीएमसीलाई फेरि पत्र लेखिएको छ ।

आजसम्म पनि कुनै सकारात्मक जवाफ नआए आइतबारबाट  आगामी वैकल्पिक रणनीतिबारे छलफल गर्ने र के कसरी अघि बढ्ने भन्ने बारेमा योजना तय गर्ने कँडेलको भनाई छ । मेलम्ची खानेपानी विकास समिति र सीएमसीबीच २०७० मा ठेक्का सम्झौता भएको थियो ।


प्रतिक्रिया