ठूलो परिमाणको लागू औषध सहित २ व्यापारी पक्राउ

फाल्गुन ९, २०७५ | हेटौंडा

ठूलो परिमाणको चरेश र चरेश बनाउने गाँजाको धूलोसहित २ जना ब्यापारीलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय हेटौंडाले बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । 

मकवानपुरको अत्यन्त दुर्गम क्षेत्र कैलाश गाउँपालिका—१ डाँडाखर्कका ४३ वर्षीय मेवा भन्ने चन्द्रबहादुर घलानको घरबाट २ सय ७३ केजी चरेश र गोठबाट १ सय ९० केजी चरेश बनाउन तयार पारिएको गाँजाको धूलो प्रहरीले बुधबार बरामद गरेको थियो ।

घरधनी घलान र अर्का चरेश व्यापारी धादिङ गजुरी गाउँपालिका—८ किरान्चोकका ३६ वर्षीय पशुपति भन्ने जीवन तामाङलाई प्रहरीले चरेशसहित पक्राउ गरेको हो ।

तामाङ चरेश बिक्री गर्न चन्द्रबहादुरकै घरमा बसेका थिए । ‘घलान र तामाङ दुबै गाँजा व्यापारी हुन’ प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘पक्राउ परेका दुबै पुराना लागू औषधका व्यापारी हुन् ।’ प्रहरी व्यापारी बनेर चरेश सहित उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकाले प्रहरीमा दिएको बयान अनुसार चरेश प्रतिकेजी ३० हजार रुपैयाँ र चरेश बनाउने गाँजाको धूलो प्रतिकेजी २० हजार रुपैयाँमा भारतीय व्यापारीलाई बिक्री गर्ने गरेको बताएका छन् । 

पक्राउ परेका घलान र तामाङले धादिङबाट चरेश र गाँजाको धूलो खरिद गरेर ल्याएको प्रहरीलाई बयान दिएका छन् । प्लाष्टिकले प्याक गरेको २६७ वटा पोकामा चरेश लुकाएर राखिएको थियो भने ५ वटा बोरामा गाँजाको धूलो लुकाएर राखिएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक पवनकुमार झाले बताउनुभयो । झाको नेतृत्वमा प्रहरी टोली डाँडाखर्क पुगेर चरेश, चरेश बनाउने गाँजाको धूलोसहित  उनीहरुलाई पक्राउ गरेको हो । 


प्रतिक्रिया