सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ल अपहरित

फाल्गुन २४, २०७५ | बझाङ

सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्लको अपहरण भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सो अपहरण आफूहरुले गरेको दाबी गरेका छन् । नारी दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा बझाङको केदारस्युँ गाउँपालिकाको सैन्सुबाट आज बिहान १० बजे मल्लको अपहरण भएको हो ।

चन्द नेतृत्वको नेकपाका बझाङ जिल्लाका एक नेताले मल्ल आफूहरूको साथमा रहेको बताएका सहकर्मी बसन्तप्रताप सिंहले जनाएका छन् । प्रदेश सांसद भए पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउने काममा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै मल्ललाई सोधपुछका लागि नियन्त्रणमा लिएको ती नेताको दाबी छ ।

यस्तै, पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बिन्दु चन्दको पक्राउ, बझाङको देउरामा हुन लागेको महिला संगठनको कार्यक्रममा प्रहरीको हस्तक्षेप लगायत कारणले पनि मल्ललाई अपरहण गरिएको दाबी उनको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले पनि सांसद मल्लको अपहरणबारे जिल्ला प्रशासन कार्यालयमा सूचना आएको र यस विषयमा बुझ्ने काम भैरहेको बताउनुभयो । मल्ललाई अपहरण गरेर ३०÷३५ जनाको समूहले बुङगल नगरपालिकाको जंगल तर्फ लगेको स्थानियलाई उदृत गर्दै सहकर्मी सिंहले जनाएका छन् । 


प्रतिक्रिया