खोटाङमा आगलागीका कारण छ घर जलेर नष्ट

चैत्र १, २०७५ | खोटाङ

– खोटाङको उत्तरी क्षेत्र दुबेकोल र माक्पामा भीषण आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । दिउँसो साढे १२ बजेतिर रावाबेसी गाउ“पालिका ५ स्थित गढीथुम्की सामुदायिक वनबाट फैलिएको डढेलोले दुबेकोलमा चार र ऐसेलुखर्क गाउँपालिका ७ माक्पा लेवामा दुई घर जलेर नष्ट भएको हो । आगोले दुबेकोलका गोपाल पाण्डे, युवराज पाण्डे, आभिशेखर पाण्डे , भीम पाण्डे र माक्पा लेवाका तोमबहादुर निरौला र पहलमान निरौलाको घर–गोठ जलेर नष्ट भएको रावाबेसी गाउ“पालिका अध्यक्ष लीलानाथ निरौलाले जानकारी दिनुभयो ।

एक सय ९० हेक्टर क्षेत्रफलमा फैलिएको गढीथुम्की सामुदायिक वन पूरै सखाप भएको अध्यक्ष निरौलाले बताउनुभयो । आगो नियन्त्रणका लागि ऐंसेलुखर्कस्थित नेपाली सेना, प्रहरी, जनप्रतिनिधिहरु तथा सर्वसाधारण खटिएका छन् । दमकल नभएकाले आगो नियन्त्रणमा समस्या भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । 


प्रतिक्रिया