हावाहुरीका कारण बारा र पर्सामा ३५ को मृत्यु, ५ सय बढी घाइते

चैत्र १८, २०७५ | बारा, जनकपुर

असिना पानीसँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ३५ जनाको मृत्यु भएको प्रदेश २ सरकारले जनाएको छ । रौतहटमा समेत गरी ५ सय बढी घाइते भएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बारामा ३४ र पर्सामा १ जनाको मृत्यु भएको बताउनुभयो । 

हिजो बेलुका आएको हावाहुरीका कारण बाराको दक्षिणी क्षेत्रमा बढी क्षति पुगेको छ । आधा दर्जन बढी गाउँका अधिकांश घरहरु भत्किएका छन् । पर्सामा पनि केही गाउँमा क्षति पुगेको छ । बारा र पर्साका विभिन्न अस्पतालमा ५ सय बढीको उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । कलैया अस्पतालमा मात्र २ सय बढीको उपचार भइरहेको छ । 

नेपाली सेना र प्रहरीले बिहानैबाट उद्दार जारी राखेका छन् । केन्द्र सरकारले समेत उद्धारका लागि टोली परिचालन गरेको जनाएको छ । उद्धारका लागि ठूलो संख्यामा नेपाली सेना खटिएका छन् । 

भोकभोगै रहेका पीडित र घाईतेका लागि स्थानीय संघसंस्था, सुरक्षानिकाय लगायतले चिया बिस्कुट सहितका खानेकुरा वितरण गरेका छन् । 

यसैबीच, प्रदेश २ सरकारले हावाहुरीमा परी मृत्यु भएका परिवारलाई तत्कालिन राहतस्वरुप ३ लाख रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले घाईतेको उपचार तथा विस्थापित सबैको पुर्नवासको जिम्मा समेत सरकारले लिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।  

अस्थायी मुकाम जनकपुरमा बसेको मन्त्रिपरिषद् बैठकले उद्धारका लागि तत्काल सक्रिय बन्न मातहतका निकायलाई निर्देशन समेत दिएको छ । 

रेडियो कान्तिपुरसँग कुरा गर्दै मुख्यमन्त्री लालबाबु राउतले विपतमा परेकाको तत्काल उद्धारका आपतकालिन उद्धार टोली गठन गरेको बताउनुभयो । 

प्रदेश २ सरकारले सहयोगका लागि संघीय सरकार, स्थानीय सरकार, दातृ निकाय, सुरक्षा बल सबैलाई आग्रह समेत गर्नुभयो । 


प्रतिक्रिया