ट्याक्सीको मिटर अनुगमन र कारबाही प्रक्रिया नै कमजोर

रेडियो कान्तिपुर संवाददाता

वैशाख ७, २०७६ | काठमाडौं

समग्र नापतौल र ट्याक्सीको मिटर अनुगमन तथा कारबाही प्रक्रिया प्रभावकारी हुन नसकेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । महालेखा परीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल गुणस्तर तथा नापतौल विभागले चालू आर्थिक वर्षमा गरेको बजार अनुगमन तथा कारबाही प्रक्रिया प्रभावकारी नभएको औंल्याएको हो ।

नापतौल यन्त्रतर्फ ११ हजार ९ सय ४६ नयाँ अनुमति लिएको र २४ हजार ३ सय ६५ वटा यन्त्रको नवीकरण भएको प्रतिवेदनले देखाएको छ । तर, नवीकरण नगराएका ट्क्यासीको अनुगमन तथा कारबाही समेत नभएको पाइएको छ ।

चालू आर्थिक वर्षमा १० हजार ६ सय ४५ ट्याक्सी दर्ता भएकोमा ३ हजार ३ सय २६ वटा ट्याक्सीले मात्र नवीकरण गराएको प्रतिवेदनले देखाएको छ । दर्ता गराएका मध्ये २ हजार १ सय ९१ वटा ट्याक्सीले बिलिङ प्रिन्टर समेत जडान नगरेको पाइएको छ । 

यस्तै, विभागले अनुगमन तथा निरीक्षण गरेका विभिन्न ५२ उद्योग मध्ये ८ वटा घ्यु तथा तेल, १५ वटा सिमेन्ट उद्योग, ७ वटा डण्डी उद्योग, ४ खाद्य उद्योगको गुणस्तरमा कैफियत देखिएको थियो । कैफियत देखिएका उद्योगको सम्बन्धित ब्याचको उत्पादन बजारबाट फिर्ता गर्न दिएको निर्देशनको पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।

निर्देशन पालना भए/नभएको बारेमा समेत यकिन गर्ने आधार नभएको प्रतिवेदनमा उल्लेख छ । अनुगमन तथा निरीक्षणको दायरा बढाएर यसलाई थप प्रभावकारी बनाउन प्रतिवेदनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।


प्रतिक्रिया