राप्रपाको सत्याग्रह कार्यक्रम स्थगित

रेडियो कान्तिपुर संवाददाता

वैशाख ७, २०७६ | काठमाडौं

- राप्रपाले राजमार्ग र सडकका चोकमा गर्ने भनिएको सत्याग्रहको कार्यक्रम स्थगित गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो  ।

राप्रपाले भोलि राजमार्ग र  मुख्य चोकमा सत्याग्रहको कार्यक्रम राखेको थियो । बैठकले दोस्रो चरणको आन्दोलन गर्ने निर्णय समेत गरेको छ । आन्दोलनका कार्यक्रम तय गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

समितिलाई सात दिनभित्र आगामी आन्दोलनका कार्यक्रम तय गर्न कार्यसमितिले जिम्मा दिएको प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । सत्याग्रहको कार्यक्रमलाई समेत दोस्रो चरणको आन्दोलनमा समेट्ने श्रेष्ठले बताउनुभयो ।  

हिन्दू राष्ट्रसहितको माग राखेर चरणबद्ध आन्दोलन गर्दै आएको राप्रपाले यसअघि पहिलो चरणको कार्यक्रम घोषणा गरी मेची–महाकाली पदयात्रा, हस्ताक्षर संकलन, तीनै तहका प्रशासनिक कार्यालयहरुमा धर्ना लगायत कार्यक्रम आयोजना गरिसकेको छ । यस्तै हिजो धर्म निरपेक्षताको ब्यानर तथा पोष्टर जलाएको थियो । 


प्रतिक्रिया