सिसडोलमा फोहोर फाल्न स्थानीयद्वारा अवरोध

असार १४, २०७६ | नुवाकोट

सिसडोल आफूहरुको माग पूरा नगरेको भन्दै नुवाकोटको सिसडोलबासीले पाँच दिनदेखि उपत्यकाबाट संकलित फोहोर फाल्न दिएका छैनन् । ककनी गाउँपालिका २ ओखरपौवाको सिसडोल र धादिङ धुनीबेसी नगरपालिका ३ को बीचमा पर्ने सिसडोलमा स्थानीयले राखेका माग सम्बन्धित निकायले पूरा नगरेको भन्दै फोहोर फाल्न नदिएको हो । 

शनिबार बिहानदेखि स्थानीयले नाराजुलुस सहित सिसडोलमा फोहोर फाल्न अवरोध गरेका थिए । उनीहरुले प्रहरी हस्तक्षेप बढेको, फोहोरमाथि राजनीति गरेको, जनतालाई मार्न खोजिएको, शान्तिपूर्ण आन्दोलन गर्न देउ र फोहोर फाल्न पाइदैन भनेर नाराजुलुस लगाएका थिए ।

फोहोर फाल्न आएका सयौं फोहोरका गाडीहरु पासाङ ल्हामु सडक खण्डको तीन पिप्लेदेखि बालाजुसम्म लाइन लागेर रोकिएका छन् । शुक्रबार स्थानीयबासीले सिसडोल व्यवस्थापन संघर्ष समिति गठन गरेर काठमाडौमा कार्यक्रम गरेका थिए ।

सरकारले उपत्यकाको फोहोर व्यवस्थापनबारे उठाएका माग सम्बोधन नगरेकाले कडा संघर्षका कार्यक्रम सहति उत्रिने चेतावनी संघर्ष समितिले दिएका थिए । सिसडोलमा अस्तव्यस्थ रहेको फोहोर दिगो व्यवस्थापन गरी डम्पिङ साइडका समस्याहरुको अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन जोड दिएको छ । 

सो समस्यालाई लिएर काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरुसँग धेरै पटक वार्ता गर्दापनि समस्याको समाधान नगरेको समितिका अध्यक्ष चक्र बलामीले बताउनुभयो । ‘दुई वर्षलाई भनेर फोहोर फाल्न दिइयो,’ उहाँले भन्नुभयो, १४ वर्ष बितिसक्दा पनि हामीलाई फोहोरको दुर्गन्धभित्र राखे । हामीले राखेको माग समेत पूरा गरेनन् ।’

आफूहरुको समस्यालाई बेवास्ता गरिएको भन्दै समितिले ओखरपौवा सिसडोलमा फोहोर खसाल्न नदिने र सधैंको लागि बन्द गर्ने पनि घोषणा गरेको छ । काठमाडौ महानगरपालिकाले ०६२ सालमा ओखरपौवाको सिसडोलमा फोहोर फाल्न थालेको हो ।

महानगरपालिकाले ओखरपौवा र धादिङको धुनीबेसीवासीसँग दुई वर्ष अवधिका लागि मात्र सिसडोल क्षेत्रलाई फोहोर फाल्न भनेर ने भनेको थियो । महानगरले सिसडोल भन्दा २ किमी पर बन्चरेडाँडामा दक्षिण एसियाको आधुनिक फोहोर फाल्ने तयारी छ ।  


प्रतिक्रिया