माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ९८ दशमलव ५ प्रतिशत निर्माण कार्य सम्पन्न

रेडियो कान्तिपुर संवाददाता

असार २५, २०७६ | काठमाडौं

- दोलखाको लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ९८ दशमलव ५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । विभिन्न ४ चरणमा निर्माण भईरहेको आयोजनाको महत्वपूर्ण मानिएको भर्टिकल पेनस्टोक शाफ्टमा स्टील लाइनिङ काम भइरहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।

 निर्माण कम्पनी मध्येको केईसीले गोङगरखोलादेखि खिम्तीसम्मको ४७ किलोमिटर प्रसारण लाइनको प्रसारण गर्ने १ सय २७ ओटा टावरमध्ये १ सय २६ ओटा टावर निर्माण सम्पन्न गरिसकेको छ । अन्तिम टावर जडानको काम जारी छ । यस्तै  ४७ किलोमिटरमध्ये अब ८ मिटर  तार राख्ने काम मात्रै बाँकी रहेको प्रवक्ता न्यौपानेले बताउनुभयो । आगामी माघ महिनाभित्र आयोजनाको सम्पूर्ण काम सम्पन्न हुने न्यौपानेको भनाई छ । 

हाइड्रोमेकानिकल तर्फको काममा ढिलाई हुँदा आयोजना एक वर्षपछि धकेलिएको हो । पछिल्लो पटक आगामी डिसेम्बरसम्म आयोजनाको म्याद तोकिएको छ । सो अवधिसम्म सम्पूर्ण काम सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना रहेको न्यौपानेले बताउनुभयो । स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको यो आयोजनाको लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएपनि निर्धारित समयमा सम्पन्न नभएपछि आयोजनाको कुल खर्च बढेर ४१ अर्ब ७२ करोड रुपैयाँसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ । यो आयोजना सञ्चालनमा आएपछि नेपाल विद्युतमा आत्मनिर्भर हुने विज्ञहरुको आंकलन छ ।


प्रतिक्रिया