नुवाकोटबाट काठमाडौं छिर्ने दुई नाकाका सडक अवरुद्ध

असार २८, २०७६ | नुवाकोट

नुवाकोटबाट–काठमाडौं जोड्ने दुई वटा नाका पहिरोका कारण अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण पासाङ ल्हामुमार्गको त्रिशूली–रानीपौवा सडक खण्डमा पर्ने निगालेमा पहिरोले बाटो अवरुद्ध भएको छ । शनिबार बिहान ककनी गाउँपालिका ४ निगालेमा करीब ७० मिटर माथिबाट पहिरो झरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । 

सडकमा झरेको पहिरो पन्छाएर बाटो सञ्चालन गर्न पहल भईरहेको प्रहरीले जनाएको छ । त्यसैगरी काठमाडौ छिर्ने अर्को नाका छहरे–गर्जुेभन्ज्याङ–झोर सडक पनि अवरुद्ध छ । काठमाडौंको झोरमा वर्षातले सडक हिलाम्य छ ।

सडक हिलो भएकाले कुनै पनि सवारी साधन उकालोमा उक्लिन नसकेको प्रहरीले जनाएको छ । गत आइतबार नुवाकोट र काठमाडौं सीमामा पर्ने गुर्जेभन्ज्याङ र त्यसभन्दा तल गएको पहिरोले अझैसम्म यातायात सञ्चालन हुन सकेको छैन ।

गल्छी– त्रिशूली सडक खण्डमाबाट यातायात सञ्चालन भईरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । रसुवाको स्याफ्रु–मैलुङ सडक माथिबाट साना पहिरो र ढुंगा झर्ने भएकाले सञ्चालनमा आएको छैन । चीनको रेसुओ पोर्ट हुँदै सीमा नाका रसुवागढी भन्दा तल रहेको भन्सार कार्यालयबाट छुटेका गाडी धुन्चे हुँदै त्रिशूली, गल्छी हुँदै गन्तव्यमा गएका छन् ।

शनिबार बिहानर झोर–जगत जाने सडकखण्डमा एउटा बस सहचालक छलाउँदै सडक छेउ पुगेर अड्किए पछि बाटो अवरुद्ध भएको छ । मानवीय क्षति नभएकाले बसलाई जेसीबी र क्रेनको सहायताले निकाल्ने कार्य भईरहेको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया