बाढीले हुआनसी नारायणी सिमेन्ट उद्योगमा १ अर्बको क्षति

असार ३०, २०७६ | धादिङ

धादिङस्थित मलेखुखोलामा गएराति आएको बाढीले चिनियाँ सहयोगमा निर्माणाधीन हुआनसी नारायणी सिमेन्ट उद्योगमा ठूलो क्षति पुगेको छ । बाढीका कारण उद्योगको १ अर्ब रुपैयाँ बढीको क्षति भएको स्थानीय कार्यालय प्रबन्धक तुलसी थापाले दाबी गर्नुभयो ।

बाढीले मजदुरका आवास, निर्माणाधीन संरचनामा पूर्ण क्षति पुगेको छ । गएरातिको वर्षाले खोलामा पानीको बहाव बढ्न थाले पछि खोला बगरमा रहेका अढाई सय चिनियाँ र ३ सय मजदुर तथा प्राविधिकलाई भने नजिकैको पिपल भन्ज्याङ्ग माविमा सारिएको थियो ।

उनीहरु बस्ने आवासलाई घेरेर बाढी दुवैतर्फ पसेपछि २ कोरियाली र ५ जना चिनियाँ मजदुर बीचमै फसेका थिए । स्थानीयबासी र प्रहरीको सहयोगमा बिहान ५ बजे उनीहरुको उद्धार गरिएको हो । बाढीले ३ वटा जिप, २ टिपर, २ डोजर पनि बगाएको छ । काठमाडौं इन्जिनियरिङ कलेजबाट अध्ययन भ्रमणमा गएका विद्यार्थीको बस पनि बाढीले बगाएको छ । 

गत फागुन १७ गते सिलन्यास गरिएको सो सिमेन्ट कम्पनी १७ अर्ब लगानीमा निर्मार्ण गर्न चीनकै हन्दन सिनोमा कम्पनीले ठेक्का लिएको थियो ।

दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योग आगामी ९ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सिमेन्ट उद्योगमा चिनियाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत शेयर रहने बताइएको छ । 


प्रतिक्रिया