३ बुँदे सहमति पछि खुल्यो गल्छी–त्रिशूली सडक

श्रावण १०, २०७६ | नुवाकोट

पीडित पक्ष र त्रिशूली अस्पताल विकास समितिबीचको सहमति भएपछि गल्छी–त्रिशूली सडक खण्ड सञ्चालनमा आएको छ । त्रिशूली जिल्ला अस्पतालको लापरबाहीका कारण सुतकेरीको मृत्यु भएको भन्दै मृतकका आफ्न्त तथा स्थानीयले आज गल्छी–त्रिशूली सडक खण्ड अवरुद्ध पारेका थिए ।

सुत्केरी गराउने क्रममा स्थानीय गोमा वस्तीको मृत्यु भएपछि आफ्न्त तथा स्थानीयले बेलकोटगढी नगरपालिका ७ महादेवफाँट सडक अवरुद्ध पारेका थिए । त्रिशूली अस्पतालमा सुत्केरी गराउने क्रममा अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि उनलाई हेलिकोप्टरबाट काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको थियो ।

अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत्यु भएको भनेपछि शवलाई पुनः त्रिशूली ल्याएर मृतकका आफ्न्त र छिमेकीले त्रिशूली अस्पतालको कमजोरीका कारण मृत्यु भएको भन्दै सडक बन्द गराएका थिए । 

पीडित पक्ष र त्रिशूली अस्पताल विकास समितिबीचका ३ बुँदे सहमति सडक सञ्चालनमा आएको हो ।

त्रिशूली अस्पताल विकास समितिले घटनाको छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सुधार गर्ने, मृतक गोमा वस्तीको नाबालक शिशुहरुको पढाई–लेखाई व्यवस्था गर्न कोष स्थापना गर्नुका साथै अस्पताल कर्मचारीको तर्फबाट ५० हजार उपलव्ध गराउन सहमति भएको छ । 

यस्तै, स्थानीय तह तारकेश्वर गाउँपालिकाले १ लाख रुपैयाँ सो कोषमा राख्ने र अन्य सहयोगको लागि स्थानीय प्रशासनले पहल गर्ने, मृतक बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं उपचारको लागि लागेको भाडा विदुर नगरपालिकाले व्यहोर्ने सहमति भएको छ ।

सो सहमति पत्रमा मृतकका श्रीमान युवराज वस्ती लगायत र अस्पतालका तर्फबाट त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, निमित्त सुपरिटेण्डेन्ट चिकित्सक रेमकुमार राईले हस्ताक्षर गरेका छन् । 

सुत्केरीको मृत्यु भएपछि गल्छी–त्रिशूली सडक अवरुद्ध 

http://bit.ly/2OmD2pg


प्रतिक्रिया