अज्ञात समूहद्वारा वडा कार्यालयमा बम प्रहार

श्रावण १५, २०७६ | नुवाकोट

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ कागती गाउँमा रहेको वडा कार्यालय भवनमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । ४/५ जनाको समूहमा आएका व्यक्तिले कार्यालयमा आएर पेट्रोल बम प्रहार गरेका थिए । 

पेट्रोल बम प्रहार पछि कार्यालयका दुई वटा कोठामा रहेको दुई वटा कम्प्युटर, कागजपत्र, फर्निचर, लगायतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी राजेश थापाले बताउनुभयो । बम प्रहरपछि उनीहरु भागेका थिए । आगलागी भएपछि स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

फरार रहेका ती अज्ञात समूहको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । नेक्र वित्रम चन्द समूहले बुधबार आहृवान गरेको बागमती र नारायणी बन्दले नुवाकोट र रसुवा जिल्ला प्रभावित भएको छ । बन्दका कारण लामो र छोटो दूरीका सवारी सञ्चालनमा आएका छैनन् ।

जिल्लाका अधिकांश  शैक्षिक संस्था र पसलहरु बन्द रहेपनि सदरमुकाम क्षेत्रमा आंशिक रुपमा खुल्ला छ । एम्बुलेन्सहरु, पानीका ट्यांकर चलेका छन् । बन्दले नदीबाट बालुवा झिक्नेलाई मौका परेको छ । चन्द समूहका केन्द्रीय सदस्य एवं उपत्यका ब्युरो इन्चार्ज र जनसंस्कृतिकर्मी माइला लामालाई प्रहरीले पक्राउ गरेको पछि रिहाईको माग गर्दै सो समूहले बन्द गरेको छ ।

‘सरकारले वार्ता गर्ने भन्दै निरन्तर आफ्ना नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्ने, झुठामुद्दा लगाएर फसाएर जेल चलान गर्ने र मुठभेडका नाममा हत्या गर्ने गरेको’ भनेर चन्द समूहको आरोप छ । दमन र धरपकड नरोके चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने विज्ञप्ति मार्फत जनाएको छ । 


प्रतिक्रिया