संसदमा प्रधानमन्त्रीको भाषाप्रति कांग्रेसको आपत्ति

रेडियो कान्तिपुर संवाददाता

भाद्र १, २०७६ | काठमाडौं

- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्नुभएको भाषाप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । विशेष समयमा बोल्दै कांग्रेसका मिनेन्द्र रिजालले सरकार आन्दोलनमा गएको नभई आन्दोलनमा गएका मान्छेले बनाएको सरकार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, प्रधानमन्त्रीज्यूले लोकतन्त्रका लागि लडेको सरकार हो भन्नुभयो, 'प्रधानमन्त्रीको वाम आन्दोलन, त्यसपछिको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको सम्मान गर्छु । तर भिन्नता हेक्का रहोस् प्रधानमन्त्रीज्यू, सरकार लडेको होइन, लडेको मान्छेहरुले बनाएको सरकार हो ।'

सांसद रिजालले सरकार गठनताका एक वर्षमा नै रेल र पानी जहाज ल्याउने भन्दै भाषण गर्नेहरुले अहिले आधार वर्ष भन्दै पन्छिन खोजेको आरोप लगाउनुभयो । निर्वाचनका बेला भोट भाग्न जाँदा गरेका प्रतिवद्धता सरकारले पूरा गर्न नसकेको नेता रिजालको दाबी छ । 

सत्तारुढ नेकपाका मूख्य सचेतक देव गुरुङले सैनिक ऐन २०६३ को दफा ३८ देखि ६५ सम्मको व्यवस्था संविधानसँग बाझिएकाले संसोधन गर्न माग गर्नुभयो । सैनिक अदालतले सोही ऐन अनुसार कारवाही गर्ने हुँदा तत्कालीन समयमा सेना छाडेर भागेकालाई पनि कारवाहीको दायरमा ल्याएकाले सो ऐन संसोधन गर्नुपर्ने उहाँको भनाई थियो । 

राजपाका अनिलकुमार झाले गत असार अन्तिम साता आएको बाढी र डुवानपछिको क्षतिपूर्ति एक पक्षीय भएको आरोप लगाउँदै क्षतिका मुल्यांकन पनि न्युन रहेको बताउनुभयो । 


प्रतिक्रिया