वर्तमान सरकारले लोकतन्त्रमाथि प्रहार गर्‍यो : देउवा 

भाद्र २, २०७६ | भैरहवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाउनु भएको छ । सरकारबाट लोकतन्त्रमाथि खतरा बढ्दै गएको भन्दै सभापति देउवाले लोकतन्त्र खतरामा परे कांग्रेसले जुनसुकैबेला आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भैरहवामा आयोजना गरेको प्रदेश पाँच स्तरीय महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उहाँले लोकतन्त्र रक्षाका लागि कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो । पार्टीलाई बलियो, शक्तिशाली बनाउन र आगामी निर्वाचनमा पहिलो शक्ति बनाउन पनि शुशासन आवश्यक रहेको उहाँले बताउनुभयो ।

चुनावका बेला पार्टीलाई भोट नहाल्ने व्यक्ति पार्टीमा बसिरहन आवश्यक नरहेको भन्दै उहाँले पार्टीलाई धोका दिने जोकोहीलाई कारबाही गर्ने बताउनुभयो । 

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका कार्यकर्ताहरु गुटका आधारमा विभाजित नभई एकताबद्ध भई अघि बढ्नु पर्ने बताउनुभयो । न्याय, विश्वसनियता र पारदर्शीता नै कांग्रेसको एकताको आधार भएको उहाँले बताउनुभयो ।

विधानबाट सबैभन्दा बढी पार्टीको माथिल्लो तहका नेता नै बाँधिनु पर्ने उल्लेख गर्दै उहाँले पार्टीमा पारर्शीता जरुरी रहेको बताउनुभयो । भोलीसम्म चल्ने प्रशिक्षणमा सहभागी हुन प्रदेश पाँचका १२ जिल्लाबाट कांग्रेस महाधिवेशन प्रतिनिधि भैरहवा पुगेका छन् ।


प्रतिक्रिया