पासाङ ल्हामु मार्गको ढुंगे–बेत्रावती सडक अवरुद्ध

भाद्र ७, २०७६ | गेर्खुटार, नुवाकोट

अविरल वर्षा पछि आएको बाढीका कारण नुवाकोटको पासाङ ल्हामु मार्गको ढुंगे–बेत्रावती सडक पुनः अवरुद्ध भएको छ । गेर्खु खोलामा आएको बाढीले अस्थायी डाइर्भसन बगाएपछि सडक अवरुद्ध भएको हो ।

शुक्रबार राति आएको बाढीले अस्थायी रुपमा बनाइएको डाईभर्सन बगाएपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका इञ्चार्ज विकल भट्टराईले बताउनुभयो । सो सडक खण्डको बेत्रावती पट्टी दर्जन सवारी रोकिएका छन् भने ढुंगेपट्टी पनि दुई दर्जन साना ठूला सवारी रोकिएको छ ।

सडक सञ्चालन गर्न कसैले पहल नगरेको स्थानीयको गुनासो छ । सो डाईभर्सन विदुर नगरपालिका १ र १० वडाको सिमाना हो । बुधबार राति खोलाले सडक बगाएपछि अस्थायी रुपमा दुई वटा हृयुमपाइप हालेर डाईभर्सन बनाई यातायात सञ्चालन गरिएको थियो ।

पुनः बाढीले पुल बगाएपछि शुक्रबार दिउँसो फेरि मर्मत गरेर यातायात चलाउन सुरु गरेको १२ घण्टा नबित्दै बाढीले डाईभर्सन बगाएपछि अवरोध भएको हो । उक्त सडक अहिले गल्छी—त्रिशूली—मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजना भित्र पर्छ । यही सडक हुँदै रसुवाको सीमा नाका रसुवागढी जाने मुख्य बाटो हो । यही बाटोबाट चीनको केरुङबाट आयात गरिएका सामान काठमाडौं ल्याउने र लैजाने गरिन्छ । 


प्रतिक्रिया