दाङमा ६९ जनालाई डेंगु संक्रमण, दिनहुँ बिरामी बढ्दै

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३१, २०७६ | दाङ

दाङमा दिनहुँ डेंगुका बिरामी बढ्दै गएका छन् । मंगलबारसम्म ६९ जना बिरामीमा डेंगु देखापरेको छ । जसमध्ये ३९ पुरुष र ३० महिला छन् । तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा बढी २२ पुरुष र १६ महिला गरी ३८ जना बिरामी देखापरेको जनस्वास्थ्य कार्यालयका डेंगु फोकल पर्सन कमल चन्दले बताउनुभयो ।

यसैगरी घोराही उपमहानगरपालिकामा ११ पुरुष र ८ महिला गरी १९ जना बिरामी फेला परेका छन् ।  गढवामा एक पुरुष, बबईमा एक महिला, एक पुरुष र गढवामा एक पुरुषमा संक्रमण देखिएको चन्दले जानकारी दिनुभयो । यसैगरी जिल्लाका अन्य ठाउँमा ५ महिला र एक पुरुषमा संक्रमण देखिएको छ ।

सल्यान र प्युठानका एक/एक पुरुषमा पनि संक्रमण देखिएको उहाँले बताउनुभयो । तीमध्ये अधिकांश उपचारपछि घर फर्किसकेको र केहीको मात्रै उपचार भैरहेको चन्दले जानकारी दिनुभयो ।  डेंगु संक्रमण बढ्दै गएपछि चेतनामुलक अभियानहरु पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

डेंगुको परिक्षण र उपचार निशुल्क हुन नसकेकाले समस्या भैरहेको चन्दले बताउनुभयो । जिल्लामा सबैभन्दा बढी बिरामी भेटिएपछि तुलसीपुर र घोराही उपमहानगरपालिकामा डेंगु नियन्त्रण अभियान चलाइएको छ ।

उपमहानगरको स्वास्थ्य शाखाले ‘लामखुट्टे खोज अनि मार’ अभियान सञ्चालन गरेको छ । पानी जम्ने खाडल नष्ट गर्ने, लामखुट्टे मार्ने र जनचेतना दिने जस्ता काम गरिरहेको घोराही उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले बताउनुभयो । 


प्रतिक्रिया