झापाबाट ब्राउन सुगर कारोबारी पक्राउ

भाद्र ३१, २०७६ | बिर्तामोड

ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने गिरोहलाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बिर्तामोड नगरपालिकाबाट भाद्र महिनाको विभिन्न मितिमा ६ जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट १८८.५० ग्राम ब्राउन सुगर बरामद गरेको छ । भाद्र ११ गते बिर्तामोड ५ स्थित पूर्वपश्चिम लोकमार्गबाट हल्दिबारी गाउँपालिका १ का २६ बर्षीय मनोज गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गुरुङको सूचनाको आधारमा १२ गते बिर्तामोडबाटै अर्जुनधारा नगरपालिका ४ का ५६ वर्षीय शिवलाल कटुवाललाई पनि पक्राउ गर्न सफल भएको डीएसपी श्रेष्ठले बताउनुभयो । उनीहरुको साथबाट ९१.५० ग्राम ब्राउन सुगर बरामद गरेको श्रेष्ठले बताउनुभयो । 

भाद्र ५ गते बिर्तामोड ५ स्थित पुरानो इलाम बस स्टेन्डबाट बुद्धशान्ति गाउँपालिका ४ घर भई हाल बिर्तामोड ५ स्थित अतिथि सदन छेउमा डेरा गरी बस्ने ३६ वर्षीय रामकृष्ण कडरियालाई प्रहरीले पक्राउ गरेको थियो ।

कडरियाको बयानका आधारमा भाद्र ११ गते शिवसताक्षी नगरपालिका ७ घर भई हाल बिर्तामोड १ पञ्चकन्या टोलमा डेरा गरी बस्ने ४० वर्षीय जुत्ते भनिने राजेन्द्र रिजाल पक्राउ परेका थिए । भाद्र २६ गते बिर्तामोड ५ का ४७ वर्षीय रिकुटे दीपक भनिने केशव सिवालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट ब्राउन सुगर ५२ ग्राम, बा १६ च १६९३ नम्बरको एक थान गाडी समेत बरामद गरेको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो । 

भाद्र १२ गते बिर्तामोडबाटै भारत जलपाइगुडी घर भई हाल भद्रपुर नगरपालिका ७ मा डेरा गरी बस्ने ३९ वर्षीय श्रवणकुमार चौधरी पनि लागूऔषध सहित पक्राउ परेका छन् । प्रहरीले उनको साथबाट ब्राउन सुगर ४५ ग्राम, भारतीय कार एक थान, भारतीय सिमकार्ड, मोबाइल र केही नेपाली नगद समेत बरामद गरेको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुले लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा लागूऔषधको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

‘झापामा लागूऔषधको पुरानो गिरोह छ भन्ने सूचना पाएपछि हामीले लामो समयदेखि अनुसन्धान सुरु गरेका थियौं’ जिल्ला प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले भन्नुभयो, ‘अनुसन्धानका क्रममा गाडीबाटै कारोबार हुने गरेको पत्ता लागेपछि उनीहरुलाई पक्राउ गर्न सफल भएका हौं ।’ 

प्रहरीको तथ्यांकअनुसार आब ०७३/७४ मा १६५, ०७४/७५ मा १८९ र ०७५/७६ मा २ सय जना लागूऔषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले आर्थिक वर्ष ०७३/७४ मा ब्राउन सुगर २०३ ग्राम, गाँजा २६ केजी, चरेश ५ केजी ३ सय ४० ग्राम र अफिम २ ग्राम, ०७४/७५ मा ब्राउन सुगर १२० ग्राम, गाँजा ५ केजी ९६५ ग्राम र ०७५/७६ मा ब्राउन सुगर ७६७ ग्राम, गाँजा २ केजी ३३५ ग्राम र चरेश १८ केजी ५०० ग्राम बरामद गरेको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार झापामा लागूऔषध प्रयोगकर्ता भन्दा कारोबारी बढी पक्राउ परेका छन् । भारतीय सीमा नजिकै भएकाले जिल्लामा लागूऔषधको कारोबार बढेको हुन सक्ने एसपी मैनालीले बताउनुभयो । 


प्रतिक्रिया