कांग्रेसको विरोधपछि प्रदेश एकको प्रदेशसभा बैठक अवरुद्ध

भाद्र ३१, २०७६ | विराटनगर

विधेयक निर्माणमा असहमति जनाउँदै नेपाली कांग्रेसले पहिलो पटक प्रदेश एकको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सामाजिक विकास समितिले बहुमतले पारित गरेको ‘मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनलाई कार्यसूचीबाट हटाउन माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

कार्यव्यवस्था परामर्श समितिमा सहमति जुट्न नसकेपछि पौने २ घण्टा ढिला गरी सुरु बैठकमा कांग्रेसका प्रदेश सभा सदस्यहरूले उठेर विरोध जनाएका थिए ।

कांग्रेका प्रमुख सचेतक केदार कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धि विधेयकमा नेकपाको स्कूल विभाग र जनवादी शिक्षा दिन्छु भन्ने कुरा नलेखेपनि विधेयक विश्वविद्यालयलाई नेकपाको स्कूल विभाग बनाउने जस्तो आएकाले यसलाई फिर्ता नगरे विरोध कायम रहने बताउनुभयो ।

कांग्रेसले अवरोध जारी राखेपछि स्थगित बैठक २० मिनेटपछि फेरि बसेपनि कांग्रेसले विरोध जारी राखेपछि सभामुख प्रदीपकुमार भण्डारीले भोलीसम्मका लागि स्थगित गर्नुभयो । विधेयकमा फरक मत दर्ता गराएका कांग्रेस सांसदले सामाजिक विकास समितिले सो विधेयक बहुमतले पारित गर्दा समेत हिजो ‘नोट अफ डिसेण्ट’ लेखेका थिए । 


प्रतिक्रिया