दशै तिहार सुरक्षा योजना लागू

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७६ | काठमाडौं

- नजिएको दशैं, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै संघीय राजधानीमा हुने विभिन्न अपराध नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले आजबाट लागू हुने गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

दशैंमा सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान सीआरभी, क्विक रेस्पोन्स टिम क्युआरटी र साइकलमा समेत प्रहरी परिचालन गर्नेछ । ८३ जनाको मोटरसाइकल गस्ती, ३५ साइकल गस्ती र ४६ मोटर गस्तीका साथै विभिन्न स्थानमा विभिन्न सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको छ । ११ स्थानमा प्रहरी सहायता कक्षसमेत खडा गरिएको छ ।

यस्तै ६७ ठाउँमा स्थाई पिकेट तथा ५७ स्थान अस्थाईको समेत व्यवस्था गरिएको छ । काठमाडौंमा हुने आपराधिक गतिविधिबारे जानकारी लिन सादा पोशाकमा ७० जना प्रहरी परिचालन गर्नेछ ।

यस्तै काठमाडौ भित्रिने र बाहिरिने नाकामा विशेष तालिम प्राप्त कुकुरसमेत परिचालन हुने प्रहरीले जानकारी दिएको छ । प्रहरीले चाडबाडको समयमा घर तथा कोठा खाली गरेर नजान वा जानैपर्ने भए नजिकैको छिमेकी तथा प्रहरीलाई समेत जानकारी दिन अनुरोध गरेको छ । 

 


प्रतिक्रिया