चन्द समूहका केन्द्रीय सदस्य सहित २१ नेता/कार्यकर्ता पक्राउ

रेडियो कान्तिपुर संवाददाता

आश्विन ३०, २०७६ | काठमाडौं

प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको बैठकमा हस्तक्षेप गरी २१ जना नेता/कार्यकर्तालाई प्रहरीले आज बिहान दाङबाट नियन्त्रणमा लिएको छ । नेपाल–भारत सीमा नजिक दाङको राजपुर गाउँपालिका–४ मुग्रेठा खोलास्थित जंगलको बीचमा मध्यपश्चिम कमाण्डको बैठक बसिरहेको अबस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहान १ बजे बैठकस्थल घेरा हालेर केन्द्रीय सदस्य सहित २१ नेता/कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विनोदविक्रम शाहले बताउनुभयो । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द समूहका सहोदर दाजु एवं मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर पनि छन् ।

यस्तै, राप्ती ब्यूरो इञ्चार्ज केशबहादुर बाँठा, संयोजक रामबहादुर थापा र ब्यूरो कार्यालय सचिव सविन पोख्रेल, दाङ जिल्ला इञ्चार्ज यमलाल कटुवाल र सेक्रेटरी प्रदीप ओली, युवा संगठनका केन्द्रीय अध्यक्ष बबिन केसी, बुद्धिजीवी संगठनका सुनिल पौडेल, जिल्ला जनपरिषद सदस्य एकराज चौधरी र राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा पनि पक्राउ परेका छन् । 

यसैगरी राष्ट्रिय दलित मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, राप्ती व्यूरोका सदस्य तिलक पुन, हितप्रसाद रोका, पोष्टमान घर्ती, दलबहादुर खत्री, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, बिष्णु थापा र कुलबहादुर ओली पनि पक्राउ गरिएको डीएसपी शाहले बताउनुभयो । प्रतिबन्धित समूहका २१ जना केन्द्रीय स्तरका नेता एकै पटक पक्राउ पर्नुलाई प्रहरीले ठूलो सफलता मानेको छ । 


प्रतिक्रिया