हेलो नेपालको टावर तोडफोड तथा सोलार पाता चोरी

कार्तिक १, २०७६ | सल्यान

सल्यानको कुमाख लेखमा रहेको हेलो नेपालको टावरमा तोडफोड भएको छ । २०६४ सालमा सिद्धकुमाख गाउँपालिका र कुमाख गाउँपालिकाको बीचमा पर्ने कुमाख लेखमा निर्माण गरिएको हेलो नेपालले निर्माण गरेको टेलिफोन टावर र सोलार सामग्रीहरु तोडफोड गरिएको छ ।

सोलार पाताहरु चोरी भएका छन् । सुरक्षा गार्ड नभएको र स्थानीयले पनि बेवास्ता गरेका कारण सामानहरु तोडफोड हुनुका साथै चोरी भएका हुन् । दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गरेसँगै कम्पनीले समेत बेवास्ता गर्दा टावर अलपत्र परेको थियो ।

टावर हेरचाहका लागि दुई जना चौकीदार राखिएपनि तलब नपाएको भन्दै उनीहरुले काम छोडेपछि टावरको सामान तथा सोलारका पाता चोरी भएको स्थानीयले बताए । टावरका १९ वटा सोलारका पाता हराउनुका साथै अन्य सामानमा समेत तोडफोड भएको छ ।

यसबारेमा पटक पटक कम्पनीलाई जानकारी गराउँदा समेत वास्ता नगरेको चौकीदार तिलक चलाउनेले बताए । हेलो नेपाल मोवाईल कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शुल्क बापतको ८० करोड रुपैयाँ भुक्तानी नगरेका कारण अनुमति पत्र खारेज गरिएको थियो ।

ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गर्नेगरी सो कम्पनीले २०६४ फागुनमा लाइसेन्स पाएको थियो । हेलो नेपाल स्याटेलाइटले मध्य तथा सुदूरपश्चिममा मात्र सेवा दिंदै आएको छ । 


प्रतिक्रिया