विवादका बीच नेकपा काभ्रेको सपथ

कार्तिक २, २०७६ | काभ्रे

एकता सुरु भएको डेढ वर्षपछि पनि विवादका बीच नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला कमिटी काभ्रेको सपथ गरिएको छ । तत्कालीन माओवादीतर्फ सहमति जुट्न नसकेपछि २ महिला सदस्यको नाम हटाएर १ सय २६ सदस्यीय जिल्ला कमिटीलाई सपथ ग्रहण गराइएको हो । 

प्रदेश कमिटीबाट नाम अनुमोदन भइसकेका सावित्री थपलिया र जमुना सापकोटालाई जिल्ला कमिटी सदस्यको जिम्मेवारीबाट हटाइएको हो । थपलियाले उपस्थित नेता कार्यकर्ताकै अगाडि आफ्नो नाम हटाइएको बारे प्रश्न गरेकी थिइन् । उनको सुनुवाई नै नगरी सपथ अगाडि बढाइएको थियो ।

सपथ ग्रहणमा उनी सहभागी भएपनि जिल्ला कमिटीमा उनी रहने छैनन् । सापकोटाले पार्टीको लागि एकपटक त्याग गरेको बताइन् । तत्कालीन जिल्ला संयोजक रुकु चौलागाई र पोलिट्व्युरो सदस्य सुर्यमान दोङले आफ्ना पक्षका मान्छे बढी सिफारिस गरेको भन्दै तत्कालीन पोलिट्व्युरो सदस्य गंगाबहादुर दोङ पक्ष असन्तुष्ट थियो ।

जिल्ला कमिटीको सपथ बहिष्कार गर्ने तयारी गरेपछि छलफलबाट टुंगाइएको हो । पूर्व माओवादीको तर्फबाट ६५ र पूर्व एमालेको तर्फबाट ६३ गरी १२८ सदस्यीय जिल्ला कमिटी प्रदेशले अनुमोदन गरेको थियो । विवादका कारण पूर्व एमालेको भागमा परेका थप १५ जना र पूर्व माओवादीका तर्फबाट थप ५ को नाम टुंगो लागेको छैन । पूर्व एमालेले अघिल्लो अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीलाई नै सिफारिस गरेको थियो । 

नेकपा प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले सपथ गराउनुभयो । प्रदेश सहइञ्चार्ज हितमान शाक्य, हितबहादुर तामाङ, काशिनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहाल, सचिव आनन्दप्रसाद पोखरेल, जिल्ला इञ्जार्ज समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा लगायतको उपस्थिति थियो । जिल्ला अध्यक्ष पूर्व माओवादीको तर्फबाट रुकु चौलागाई र सचिव पूर्व एमालेको तर्फबाट टोकबहादुर वाइवा छन् । 


प्रतिक्रिया