कालंगाको सुरुङमा फसे चार मजदुर 

कार्तिक १८, २०७६ | बझाङ

बझाङमा निर्माणाधिन कालंगागाड जलविद्युत आयोजनाको सुरुङ्गमा चार जना मजदुर फसेका छन् । उनीहरु आइतवार दिउँसो ३ बजे देखि सुरुङ्ग भित्र फसेका हुन् । दशैं तिहारको बिदा पछि काम सुरु गर्नु पूर्व सुरुङ्ग हेर्न भनेर गएका उनीहरु बेहोस भएर सुरुङ्गको बीच भागमा ढलेको बताईएको छ ।

माथिल्लो कालंगागाडको दाडिमगाड भन्ने ठाउँमा रहेको सुरुङ्ग हेर्नका लागि दैलेखको गुराँस गाउँपालिकाका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिकाका महेन्द्र साउद र बझाङको बुङ्गल नगरपालिकाका शेरसिंह धामी ट्याक्टरमा सुरुङ्ग भित्र छिरेका थिए ।

सुरुङ्गको मध्यभाग तिर पुगे पछि अरु चार जना बेहोस भएर ट्याक्टरबाट खसेको चालक दिलबहादुर राना मगरले बताए । आफूलाई पनि श्वास फेर्न गाह्रो भए पछि ट्याक्टर चलाएर बाहिर आएको उनले बताए । सुरुङ्ग भित्र अक्सिजनको अभावका कारण मजदुरहरु बेहोस भएको हुन सक्ने अनुमान गरिएको छ । 

घटना लगतै घटनास्थलमा पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले उद्धारको प्रयास गरे पनि सफल हुन सकेको छैन । अक्सिजनको सिलिन्डर लिएर केही उद्धारकर्ता भित्र पसेपनि उद्धार प्रयास सफल नभएको घटनास्थलमा रहेका स्थानिय पत्रकार मकरराज धामीले बताए । 

उनीहरुको उद्धारको लागि काठमाडौंबाट गोताखोर मगाइएको छ । शसस्त्र प्रहरीको गोताखोर टोली हेलिकप्टर मार्फत आउँदै गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले बताउनुभयो । ७५ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको उक्त सुरुङ तीन सय मिटर लामो छ ।

 


प्रतिक्रिया