गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढीको काम रोकियो

कार्तिक २३, २०७६ | नुवाकोट

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सम्मको सडक आयोजनाको काम रोकिएको छ । सर्वाेच्च अदालतले मुआव्जाको विषयलाई लिएर अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि सो आयोजनाको काम रोकिएको हो ।

सर्वाेच्चका न्यायाहीश सुष्मालता माथेमाको एकल ईजलासले आयोजनालाई आगामी २६ गतेसम्म काम यथास्थितिमा राख्न आदेश दिएको छ । नुवाकोटको विदुर नगरपालिका १० का स्थानीय नारायणप्रसाद प्याकुरेलले मुअब्जाका विषयमा अन्याय गरेको जनाउँदै सर्वाेच्चमा रिट दायर गरेका थिए । शुक्रबार म्याद आएपछि आयोजनाले शनिबारबाट गेर्खुखोलादेखि बेत्रावती सम्मको काम बन्द गरेको छ ।

‘उक्त खण्डको काम बन्द गरिएको छ,’ आयोजना प्रमुख नारायणदत्त भण्डारीले भन्नुभयो, ‘त्यो खण्ड बाहेक अरुमा काम भैरहेको छ ।’ सर्वोच्च अदालतले आगामी मंगलबार सडक प्रभावितहरु, सडक आयोजना, जिल्ला प्रशासन, जिल्ला प्रहरी र मालपोत कार्यालयलाई छलफलको लागि बोलाएको छ ।

सर्वोच्चले पठाएको म्याद शुक्रबार अपरान्ह नुवाकोट अदालत मार्फत सरोकारवाला निकायलाई बुझाएको थियो । सडक प्रभावितहरुले मुद्दा दायर गर्दा अन्तिरम आदेश माग गरेकोले २६ गतेसम्मको लागि सर्वाेच्च अदालतको नियमावली २०७४ को नियम ४९ को २ ख बमोजिम अल्पकालनी अन्तिरिम आदेश दिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाई निवेदक प्याकुरेलले मुद्दा दायर गरेका थिए । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए । अल्पकालीन आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारण सहित यो आदेश प्राप्त भएको मितिले म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नू’ भनी विपक्षीको नाममा आदेश दिएको छ ।

आयोजनाले उक्त सडक खण्डमा १० मिटर बाहेक ५ मिटरको मात्र मुआव्जा दिने जनाएपनि स्थानीयले नमानेको जनाएको छ । उता स्थानीयले सडक निर्माण गर्दा जग्गा परेका, पुरानो सडक ट्याक्क नभई नयाँ ट्याक्कबाट बाटो गएको, पुरानो कानुन देखाएर सुकुम्बासी बनाउन खोजेको, वास्तविकता नबुझि एकोहोरो पेलेर आयोजना जान खोजेको भन्दै सडक अवरोध गरेका थिए ।

सडक अवरोधपछि पटकपटक स्थानीय पक्राउ पर्दै छुट्दै आएका छन् ।  गेर्खुटारदेखि बेत्रावतीसम्मको दुरी ६ किमी छ । अर्को पिपलटार देखि ढुंगेसम्मको करीब ८ किमी सडकमा पनि स्थानीयको मुआव्जा नपाएको भन्दै विरोध यथावत छ । उक्त खण्ड पासाङ ल्हामु मार्गमा पर्छ । उक्त सडक गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी रसुवागढीसम्म ८२ किमी छ । स्याफ्रुबेसी–रसुवागढी नाकासम्मको १६ किमी चीनको सहयोगमा निर्माणाधिन छ । 


प्रतिक्रिया