मृत्यु घटनाको छानबिन गर्न माग गर्दै बजार बन्द

मंसिर ९, २०७६ | डोटी

प्रहरी चौकीमा रहेका व्यक्तिको शंकास्पद मृत्यु भएको भन्दै घटनाको छानबिन हुनुपर्ने माग सहित स्थानीयले डडेल्धुरा–अत्तरिया सडकखण्डमा पर्ने गैराबजार बन्द गराएका छन् । बजार बन्दा हुँदा यातायात सवा समेत प्रभावित भएको छ । 

डोटीको जोरायल गाउँपालिका ४ गैरा बजारस्थित प्रहरी चौकीमा रहेका स्थानीय २१ वर्षीय गणेश पालीको आइतबार मृत्यु भएको थियो । प्रहरी चौकीमा उनको शंकास्पद मृत्यु भएको भन्दै मृतकका आफन्तले पोष्टमार्टम गर्न समेत मानेका छैनन् । स्थानीय र अन्य रुटका जिप चालकबीच झडप भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी चौकीमा आएको केही समयपछि उनको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । आइतबार नै उनको शव पोष्र्टमार्टमका लागि डडेलधुरा लगिएपनि आफन्तले अनुमति  दिएका छैनन् । डडेल्धुरामा पोष्टमार्टम गर्ने डाक्टर नभएकाले जिल्ला अस्पताल लैजान खोजेपनि आफन्तले असहमति जनाएका हुन् ।

मृतकका बुबा तिलक सिंह पालीले हिरासतमा प्रहरीले कुटपिट गर्दा छोराको मृत्यु भएको आरोप लगाएका छन् । तर, प्रहरीले भने दुब्र्यसनीका कारण उनको मृत्यु भएको हुन सक्ने बताएको छ । 


प्रतिक्रिया