एसिड प्रहार गरेको आरोपमा दुई युवक जेल चलान

मंसिर १०, २०७६ | हेटौडा

युवतीमाथि एसिड प्रहार गरेको आरोपमा पक्राउ परेका दुई युवकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

जिल्ला न्यायाधीश कमलराज विष्टको मंगलबार बसेको इजलाशले हेटौंडा उपमहानगरपालिका - २ की २० वर्षीया बिन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेको आरोपमा भारत महाराजगञ्ज, अमरपूर्वन–६ का राज भन्ने दिलिपराज केशरी र धनुषा घर भई हेटौंडा उपमहानगरपालिका ९ बस्ने सन्जय मण्डललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार गरेपछि २०७० बैशाख ९ गते तत्कालीन हेटौंडा–३ (हाल हेटौंडा–२) की कंसाकारको अनुहारमा एसिड प्रहार गरेर केसरी फरार भएका थिए । फरार केशरीलाई प्रहरीले ६  वर्षपछि अर्थात कार्तिक १४ गते बारा जिल्लाबाट पक्राउ गरेको थियो ।

सन्जय मण्डललाई केशरी पक्राउ गरेको एक सातापछि कार्तिक २२ गते हेटौंडाबाट प्रहरीले पक्राउ गरेको थियो । युवती कंसाकारको अनुहारमा केशरीले एसिड प्रहार गरेपछि मण्डलले केशरीलाई मोटरसाईकलमा राखेर भगाएका थिए । केशरी भारत दिल्लीस्थित गुडगाउमा बस्दै आएका थिए । बेला बेलामा उनी नेपाल आउने गरेका थिए । त्यही मौका छोपेर प्रहरीले पक्राउ गर्न सफल भएको हो । 

हेटौंडा बजारको मुख्य चोकमा रहेको आफ्नै भाँडा पसलमा बसिरहेको अवस्थामा कंसाकारलाई केशरीले अनुहारमा एसिड प्रहार गरी फरार भएका थिए । प्रहरी टोलीले बारास्थित जितपुर–सिमरा उपमहानगरपालिका–२३, भलोहीस्थित लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको थियो । 

अभियुक्तद्धयलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १५ नम्बर अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको माग दाबी सहित प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । पीडितले कंसाकारले प्रहरीले पक्राउ गरेकाहरुलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेकी छिन् । उपचारका क्रममा हालसम्म करीब डेढ करोड रुपैयाँ खर्च भइसकेको पीडित परिवारले जनाएको छ । 


प्रतिक्रिया