क्याम्पसमै थुनिए क्याम्पस प्रमुख

मंसिर ११, २०७६ | वीरगञ्ज

– अनियमित तरिकाले आफ्नै परिवारको सदस्यलाई शिक्षकमा नियुक्त गरिएको भन्दै विद्यार्थी संगठनले ठाकुरराम बहुमुखी क्याम्पसका सहायक प्रमुखलाई २ घण्टा क्याम्पसमा थुनेका छन् । सहायक क्याम्पस प्रमुखद्धय प्रमोद गुप्ता, रोशन लामिछाने र प्रशासन शाखा प्रमुख राजकुमार श्रीवास्तवलाई विद्यार्थीले क्याम्पसको सभाकक्षमा आज तालाबन्दी गरि थुनेका हुन् ।

गैरकानुनी रुपले आपसी मिलेमतोमा गरिएको नियुक्तीमा प्राध्यापक र कर्मचारीका आफन्त भर्ना भएको भन्दै अनेरास्ववियु, राष्ट्रिय विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियन लगायतका विद्यार्थी संगठनले विरोध गर्दै आएका छन् ।

समाजशास्त्रमा नियुक्त भएकी दिप्ती कटवाल सहायक क्याम्पस प्रमुख रोशन लामिछानेकी श्रीमती हुन् भने अर्को पदमा नियुक्त भएकी रितिका जैसवालले ६ महिनाअघि केही दिन ठाकुरराम क्याम्पसमा अध्यापन गराएकी थिइन् । समाजशास्त्र विभागमा २ जना आंशिक शिक्षक नियुक्त गरिएपनि विभागीय प्राध्यापकसँग सल्लाह गरिएको छैन ।

विभागीय शिक्षकले आफूहरुलाई जानकारी नै नगराई आंशिक शिक्षक नियुक्ती थालेकोमा विज्ञप्ति मार्फत यसअघि विरोध समेत जनाएका थिए । 


प्रतिक्रिया