सिसा र प्लास्टिकले कुरुप बन्दै मुक्तिनाथ 

मंसिर ११, २०७६ | म्याग्दी

हिन्दू तथा बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर क्षेत्र मदिराजन्य सिसाका बोटल तथा प्लास्टिकजन्य फोहोरको थुप्रोले कुरुप बन्न थालेको छ । थोरङला हिमालको फेदीको ३ हजार ७ सय १० मिटर अग्लो स्थानमा अवस्थित मुक्तिनाथ मन्दिरलाई हिन्दूहरुले मुक्ति क्षेत्र र बौद्धमार्गीहरुले तिब्बती भाषामा छुमङ ग्यात्सा अर्थात सय पानी भनेर पुज्ने गर्छन ।

मुक्तिनाथ हिन्दूका ५ प्रमुख धाममध्य मुक्तिनाथ एक हो । बौद्धमार्गीका २४ तान्त्रिक स्थान मध्ये छुमिङ ग्यात्स अर्थात मुक्तिनाथ एक हो । प्रख्यात धार्मिकस्थल मुक्तिनाथको रानीपौवा क्षेत्रमात्र होईन राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने जोमसोम, मार्फा तथा उपल्लो मुस्ताङ्गका लोमन्थाङसम्मका बस्तीमा सिसा तथा प्लास्टिकजन्य फोहोरको थुप्रिएको छ । 

‘मुक्तिनाथ मन्दिर र वरपरका बस्तीमा अब्यवस्थित र बढ्दो सिसा तथा प्लास्टिकजन्य फोहोर ब्यवस्थापन गर्न छुट्टै बजेट र कार्यक्रम बनाई काम थालेका छौं’ बारागाउँ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेक्तेन गुरुङ्गले भन्नुभयो, ‘पर्यटकको संख्या बढ्यो । आर्थिक जीवनमा सुधार त ल्यायो । तर, मुक्तिनाथको धार्मिक सम्भाव्यता तथा पवित्रतामा आँच पुग्न थालेको छ ।’ 

मुक्तिनाथ गाउँपालिकाले ७ महिना अघि एक चरण मुक्तिनाथ क्षेत्रका रानीपौवा, झारकोट समेतका बस्तीबाट वियर तथा मदिराका ८ ट्याक्टर बोटल संकलन गरी एक किमी टाढा खाडल खनेर पुरेको थियो । गाउँपालिकाले बोटर पुरेर अस्थाई निकास निकाल्ने प्रयास गरेपनि बोटल नकुहिने वस्तु भएकोले कालन्तरमा वातावरणमा प्रतिकुल असर पर्ने हुन्छ ।

होटल तथा बस्ती क्षेत्रमा मात्र होईन, भक्तजनले स्नानपछि यत्रतत्र फालेका वस्त्रले पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा समेत कुरुप भएको छ । गत वर्ष म्याग्दीबाट मुक्तिनाथ दर्शन गर्न गएका युवा प्रकाश पौडेलले मन्दिर क्षेत्रबाट ८ बोरा कट्टु, ब्रा जस्ता भित्री पोसाक संकलन गरी नष्ट गरेका थिए ।

मुक्तिनाथ मन्दिरको छेउको डिलमुनी अर्न्तरवस्त्र बाहेक मोजा, प्लास्टिकको झोला, खाली बोटल, चाउचाउका खोल आदि यत्रतत्र फाल्ने गरिएको छ । जुन प्लास्टिक फोहोर हावाहुरीले उडाएर मन्दिर क्षेत्रभरी पुर्‍याउने गरेको छ । बाहृय पर्यटकले मात्र होईन बेनी–जोमसोम सडकमा आउने आन्तरिक पर्यटक र शैक्षिक भ्रमणमा आउने स्कूल तथा कलेजका विद्यार्थीहरुले समेत वातावरण र प्रदुषणको ब्यवहारिक ज्ञान नराख्दा चाउचाउ, पानीका बोटल समेतका प्लास्टिकजन्य फोहोर यत्रतत्र फाल्ने गरेका छन् । 

‘सडकसँगै गाडी पुग्यो तर, बस/गाडी पार्किङ्ग स्थलमा फोहोरको थुप्रो लाग्यो । न बेच्नेले डष्टबीन राख्छ, न उपभोक्ताले आफ्नो फोहोर आफैले ब्यवस्थापन गर्ने । ब्यापारी र उपभोक्ता दुबै संस्कार नभएका रहेछौं’ सुरत केसीले भने, ‘होटल/रेष्टुरेन्ट पनि अगाडि चिटिक्क पछाडि सिसाका बोटल र फोहोरको थुप्रोले कुरुप ।’

पर्यटकीय पदमार्गका उत्कृष्ट गन्तब्यहरु मात्र होईन सडक सञ्जालमा जोडिएका सबै दुर्गम बस्तीहरु झन बढी मदिराका सिसा जन्य बोटल र कोकाकोला, फेन्टा, स्पाईट लगायत चिसो पेयपदार्थ, पानीका बोटल, चाउचाउ, बिस्कुट, चकलेटका प्लाष्टिकजन्य फोहोरबाट बढी प्रदुषित भएका छन् । 

प्लास्टिक जन्य फोहोर ब्यवस्थापन गर्न प्रयास थालिए पनि प्रभावकारी छैन । आन्तरिक पर्यटकको चाप बढेपछि पर्यटकीय क्षेत्र र पदमार्गमा प्लास्टिकजन्य फोहोर ब्यवस्थापन झन चुनौती भएको छ । वातावरण संरक्षण गर्न यस क्षेत्रमा आउने आन्तरिक तथा बाहृय पर्यटकलाई पलाष्टिकका झोला र बोटलहरु प्रयोगमा निगरानी आवश्यक छ । पर्यटकीय क्षेत्रमा मात्र होईन हरेक बस्तीमा प्लाष्टिक झोला निरुत्साहित गर्ने र प्रयोगमा आउने बिस्कुट, चाउचाउ, खाने तेल वा अन्य प्याकिङ्गका प्लाष्टिकलाई एक ठाउँमा जम्मा गरी ब्यवस्थापन गर्न स्थानीय तहले छुट्टै वातावरण कर लगाउनु आवश्यक छ ।

‘सिसा र प्लास्टिकजन्य बोटल, झोला समेतका फोहोरजन्य पदार्थ ब्यवस्थापन गर्न स्थानीय सरकारले छुट्टै स्थानीय कर लगाउनु पर्छ’ लोमन्थाङ्ग स्थित एक्याप कार्यालयमा कार्यरत स्थानीय होटल ब्यवसायी राम गुरुङ्गले भने, ‘सिसा बोटल र प्लास्टिक जन्य फोहोरले ‘३ हजार वर्ष पुरानो सहर लोमन्थाङ र सभ्यतामा समेत नष्ट गर्दैछ ।’


प्रतिक्रिया