लुम्बिनी प्रदेशका तत्कालीन सचिवसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख २, २०८३ | काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शीतभण्डार निर्माणमा अनियमितता गरेको आरोपमा लुम्बिनी प्रदेशका तत्कालीन सचिवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित अन्य कर्मचारी, ठेकेदार कम्पनी र सहकारी सञ्चालकविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिका–५, स्थित सिद्धनाथमा शीतभण्डार आयोजनाका लागि छुट्याइएको ७१ लाख ९७ हजार रुपैयाँ अनियमिततासम्बन्धी अनुसन्धान गर्दा कसुर पुष्टि भएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लख छ । अनियमतता भएको सोही रकमलाई बिगो कायम गरी बिगोबमोजिम जरिवाना, कैद सजाय र अनियमितता भएको रकम असुलउपरको मागदाबी लिइएको छ ।








