हिउँले ढाकेपछि लाप्राक वस्ती पुननिर्माण रोकियो

मंसिर २७, २०७६ | गोरखा

गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुप्सीपाखाको निर्माणाधिन एकीकृत नमूना वस्ती हिउँले ढाकेको छ । हिउँले ढाकेपछि धाच नमूना वस्ती पुननिर्माणको काम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लाप्राकका पाँच सय ७३ भूकम्प पीडितका लागि गुप्सीपाखामा घर निर्माण गरिरहेको छ । 

शुक्रबार बिहानबाट काम रोकिएको एनआरएनएका साइट म्यानेजर लक्ष्मण अर्यालले बताउनुभयो । यो वर्ष पहिलो पटक हिउँ परेर काम रोकिएको अर्यालको भनाई छ ।

निर्माणाधिन एकीकृत वस्ती हिउँले ढाकेको उहाँले बताउनुभयो । शुक्रबार बिहान देखि लगातार हिमपात हुँदा काम गर्न नसकिएको उहाँले बताउनुभयो । हाल एनआरएनएका ८० कामदार लाप्राक वस्ती पुननिर्माणमा खटिएका छन् । 

घरका काम ९० प्रतिशत सकिएको र शौचालय निर्माणको ६० प्रतिशत प्रगति भएको छ । हिउँ परेर जाडो बढेपछि काम प्रभावित वनेको उहाँले बताउनुभयो ।

त्यस्तै, उत्तरी गोरखामा पनि शुक्रबार बिहानैबाट हिमपात जारी छ । चुमनुव्री गाउँपालिका–१ सामा गाउँमा यस वर्ष पहिलो पटक हिमपात भएको स्थानीय मिङमार लामाले बताए । हिउँ परेसँगै चिसो बढेको उनले बताए । चुमनुव्री गाउँपालिका अन्तर्गत साम्दो, छेकम्पार र चुम्चेतको उपल्लो भेगमा पनि हिमपात भएको स्थानीयहरुले बताए । 

छेकम्पारमा हिउँ परेसँगै प्रहरी इकाइमा समेत टेलिफोन सम्पर्क हुन नसकेको डीएसपी मित्रबन्दु शर्माले बताउनुभयो । छेकम्पारमा शुक्रबार दिउँसैबाटै फोन सम्पर्क विच्छेद भएको छ । 


प्रतिक्रिया