हवाई फायर गरेर गाँजा सहित चार पक्राउ

पुस १९, २०७६ | हेटौडा

मकवानपुरको हेटौंडाबाट ५३ केजी गाँजा सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण कुडुवा चैनपुर बारवा बस्ने ३७ वर्षीय दिलिप कुमार सिंह, मोतिहारी रघुनाथपुर बस्ने १८ वर्षीय उज्जल कुमार ठाकुर, रौतहटको यमुनामाई गाउँपालिका-४ का २४ वर्षीय विकास सिंह र मकवानपुरको राक्सिराङ गाँपालिका-५ का ३५ वर्षीय राजकुमार मोक्तान रहेका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेक प्वाईन्टबाट ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुश्वाहाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको भारतीय नम्बरको कारको सुरक्षा जाँच गर्ने क्रममा उनीहरु भागेको थियो । 

सोही कारलाई पछ्याउने क्रममा कारमा सवार मानिसहरु भाग्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लिनका लागि हवाई फायर गरिएको समेत एसपी राठौरले जानकारी दिनुभयो । 

उक्त कारमा फल्स बटम बनाई लुकाई राखिएको ३२ किलो लागूऔषध प्रहरीले बरामद गरेको थियो ।

यसैगरी, शुक्रबार रातिनै मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे र चुरियामाईको जंगलबाट मकवानपुरका मोक्तानलाई पक्राउ गरिएको छ । 

उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुश्वाहाको कमाण्डमा खटिएको टोलीले २१ किलो गाँजा सहित पक्राउ गरेको हो ।

मनहरीबाट विरगंजतर्फ जाँदै गरेको बा ५ ख ७२६८ नम्बरको ट्रकमाथि शंका लागि पिछा गर्दै उनलाई पक्राउ गरेको हो । 

पक्राउ परेका ४ जना सहित ट्रक र कारलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही भइरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।   


प्रतिक्रिया