हिमपातले अवरुद्ध भएको सिमकोट विमानस्थल ८ दिनपछि सञ्चालनमा

पुस २६, २०७६ | हुम्ला

हुम्लाको सिमकोट विमानस्थल आजबाट सञ्चालनमा आएको छ । हवाई सेवा अवरुद्ध भएको ८ औं दिनमा बल्ल सिमकोट विमानस्थल सञ्चालनमा आएको हो । 

गत सोमबार राति देखि परेको भारी हिमपातले विमानस्थलमा २ फिटसम्म हिउँ जमेपछि हवाई सेवा अवरुद्ध भएको थियो । पटकपटक विमानस्थलको हिउँ पन्छ्याउने गरिएपनि हिउँ पर्ने क्रम नरोकिएपछि विमानस्थल सञ्चालनमा आउन सकेको थिएन ।

शुक्रबार देखि खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलको समन्वय र प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको नेतृत्वमा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र व्यवसायीको सहयोगमा विमानस्थलको हिउँ पन्छ्याइएको थियो । 

हिउँ पन्छ्याएपछि शनिबार दिउँसोबाट सिमकोट विमानस्थलमा हवाई सेवा सञ्चालन भएको हो । शनिबार सिता एयरले १ उडान भरेको सिमकोट नागरिक उड्ययन कार्यालयका प्रमुख विष्णु अधिकारीले बताउनुभयो । ५ दिन देखि हवाई सेवा अवरुद्ध भएपछि सिमकोटमा रोकिएका यात्रु तथा बिरामीहरु सुर्खेत झरेका छन् । 

हवाई सेवा अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट आउने दैनिक उपभोग्य सामान समेत अभाव भएको थियो । शनिबार पहिलो फलाई भएकाले सुर्खेतबाट नेपाल खाद्य संस्थानको चामल ल्याएको भएपनि भोलिबाट यात्रु ओसारपसार गरिने सिता एयर सिमकोट सहायक प्रमुख सूर्यबहादुर लामाले बताउनुभयो । 


प्रतिक्रिया