सन् २०२० नेपाल र भारतका लागि स्वर्णीम युग बन्ने मोदीको भनाई

रेडियो कान्तिपुर संवाददाता

माघ ७, २०७६ | काठमाडौं

मोरङको विराटनगरमा निर्मित एकीकृत भन्सार जाँच चौकी आइसिपिको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको सदियौंदेखि जारी रहेको सहकार्य आगामी दिनमा पनि यथावत रहने बताउनुभयो । नेपाल र भारतको विकासको भिजन समेत एउटै भएकोले दुई देशबीचको सहकार्यले दुवै मुलुकलाई फाइदा पुग्ने ओलीको भनाई थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न मोदीलाई निम्तो दिनुभएको हो । दुई देशबीच थाती रहेका सबै विषय सम्वादबाट हल गर्ने ओलीको भनाई थियो ।

समकक्षी नरेन्द्र मोदीले नेपालको विकासमा भारत विश्वसनीय साझेदार भएको र आगामी दिनमा पनि सहकार्य गर्ने बताउनुभयो ।सन् २०२० को दशक नेपाल र भारतबीच स्वर्णिम युगको दशक हुने मोदीले विश्वास व्यक्त गर्नुभयो । भारत र नेपालबीच सडक रेल ट्रान्समिशन लगायतको विषयमा सहकार्य भइरहेको र आगामी दिनमा पनि शिक्षा व्यापार लगायतका विषयमा सहकार्य हुने मोदीको भनाई थियो ।  


प्रतिक्रिया