प्रदेश १ सरकारको उपलब्धी : संघीयता कार्यान्वयन र जनता आशावादी

फाल्गुन ३, २०७६ | विराटनगर

प्रदेश १ सरकारले संघीयता कार्यान्वयनका साथै जनतामा आशा र विश्वास जगाउनु दुई वर्षको मुख्य उपलब्धी भएको बताएको छ ।

प्रदेश १ सरकारले आयोजना गरेको दोस्रो वार्षिकोत्सवमा मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयनका लागि तयार पारेका संरचनाले संघीयताको भावना अनुसार जनताको आकांक्षा पूरा गर्ने दरिलो आशा र विश्वास जगाउनु अहिलेसम्मको मुख्य उपलब्धी भएको बताउनुभयो । 

प्रदेश संरचना बलियो बनाउँदा मात्र संघीयता प्रभावकारी हुन्छ भन्ने मर्म र बुझाई सहित आफूहरु प्रादेशिक संरचना बनाउन केन्द्रित भएको उहाँले बताउनुभयो । संघीयता कार्यान्वयनमा ठोस उपलब्धीका साथ प्राप्त सीमित साधन स्रोतको प्रयोग गरी जनताका आकांक्षा सम्बोधन गर्दै अघि बढिरहेको उहाँले दाबी गर्नुभयो । 

हालसम्ममा ३९ वटा कानून तर्जुमा गरी कार्यान्वयन गर्न विभिन्न नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड र गठन आदेशहरुको तर्जुमा गरेको उहाँले बताउनुभयो । प्रदेश राजधानी सर्वसम्मतले तोक्न सफल भएको र प्रदेशको राजधानी तोक्न भएको सहमति, सहकार्य प्रदेशको नामकरण र प्रदेशको विकास निर्माणका लागि पनि अपेक्षित रहेको उहाँको भनाई छ । 

हालसम्म पूर्वाधारतर्फ २७ किलोमिटर सडक कालोपत्रे, १ सय २९ किलोमिटर सडक ग्रोभेल, १० वटा मोटरेबल पुल र १५ वटा झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको मुख्यमन्त्री राईले जानकारी दिनुभयो । सिंचाइ सुविधाका लागि १ सय २९ वटा योजनाहरु सम्पन्न भएका छ भने, ६ सय ३१ वटा योजनाहरु निर्माणाधिन अवस्थामा रहेको उहाँले बताउनुभयो । 

खानेपानीका आयोजना १ सय १० वटा सम्पन्न भएको छ भने ९ सय ४९ वटा आयोजनाहरु निर्माणको चरणमा रहेको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले संघ र स्थानीय तहमा आधारित सहसम्बन्ध कायम गर्न सफल भएको मुख्यमन्त्री राईको भनाई थियो । 

स्वच्छ, सुखी र समृद्ध प्रदेशको दीर्घकालिन सोच र उद्देश्यसहित प्रथम आवधिक योजना तर्जुमा गरी सार्वजनिक गर्न सफल भएको उहाँले बताउनुभयो । प्रदेशको विकासमा स्वदेशी, निजी क्षेत्र र वैदेशिक लगानी भित्र्याउन अगामी बैशाखमा लगानी सम्मेलन गर्ने सरकारको तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रदेश लोक सेवा आयोग समेत गठन भइसकेकोले कर्मचारी भर्नाको बाटो खुला भइसकेको र यसले प्रशासनिक संरचना समेत तयार हुने अवस्था निर्माण भएको राईको भनाई थियो । दुई वर्षको अवधिमा अनेकौं असजता र अप्ठयाराका बाबजुद प्रदेश सरकार सही बाटोमा सकारात्मक उपलब्धीका साथ अघि बढिरहेको मुख्यमन्त्री राईको भनाई थियो । 


प्रतिक्रिया