इस्लामिक सम्मेलनका दुई सहभागीको मृत्यु

फाल्गुन ४, २०७६ | सप्तरी

– सप्तरीको बोदेवरसाइन नगरपालिका ५ जाजरमा हिजो शुरु भएको इस्लामिक सम्मेलन इज्तिमामा आएका मध्ये दुईजना सहभागीको मृत्यु भएको छ । हिजो साँझ नै दुबैजनाको मृत्यु भएपनि प्रहरी र आयोजकले घटना सार्वजनिक गरेको थिएन । जिल्ला प्रहरी प्रवक्ता डिएसपी तिलक भारतीका अनुसार सम्मेलनमा भारतको मोतिहारीबाट आएका ७४ वर्षिय हारुन रसिदको मृत्यु भएको छ । सम्मेलनस्थलमा रक्तचाप कम भएपछि बेहोस भएका हारुनको मृत्यु भएको भारतीले बताउनुभयो । 

राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले नाती मंसुर आलमसंगै इज्तिमामा सहभागी हुन आएका हारुनको आफनै कालगतिले मृत्यु भएको दाबी गर्नुभयो । यसैगरी सम्मेलनमा भाग लिन आएका अर्का एकजनाको पनि मृत्यु भएको छ । डिएसपी भारतीका अनुसार सम्मेलनबाट फर्किदै गर्दा सप्तरीको कंचनपुर पुगेपछि एकजनाको मृत्यु भएको हो । मृत्यु हुने व्यक्तिको परिचय भने खुलासा नभएको डिएसपी भारतीको भनाई छ । सम्मेलन भोलि समापन हुँदैछ । आज साँझसम्म ३ लाख भन्दा बढी सहभागी इज्तिमामा सहभागि भएका छन् ।

सम्मेलनको अन्तिम दिन सोमवार दुवा (आर्शिवाद) माग्ने दिन रहेकाले सहभागीको संख्या थप बढ्ने आयोजकले जनाएको छ । अत्यधिक संख्यामा मानिसको उपस्थिति भएपनि स्वास्थ्य सम्बन्धी सचेतना भने अपनाइएको छैन । 


प्रतिक्रिया