मैनालीको स्वास्थ अवस्था स्थिर

फाल्गुन १५, २०७६ | काठमाडौं

सवारी दुर्घटनामा घाइते भएका पूर्व उपप्रधानमन्त्री एवं नेकपा मालेका महासचिव सीपी मैनालीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । झापाबाट काठमाडौं आउने क्रममा महोत्तरीको बर्दिवासमा कार दुर्घटना हुँदा घाइते भएका मैनालीको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । 

मैनालीको तिघ्राको हाड भाँच्चिएको र अहिले अवस्था स्थिर रहेको अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले जानकारी दिनुभयो । मैनालीको शरीरको सिटी स्क्यान भएको र रिपोर्ट आएपछि वास्तविक स्वास्थ्य स्थिती स्पष्ट हुने डा. पाण्डेले बताउनुभयो ।

सोही दुर्घटनामा घाइते भएकी मैनालीकी बुहारी पुजा ढुङ्गानाको दुइटै खुट्टाको हाड भाँच्चिएको छ । यस्तै मैनालीको ५ वर्षे नातीको पनि हड्डी भाँच्चिएको पाण्डेले बताउनुभयो । मैनालीका छोरा सरोज र चालक रामप्रसाद पौडेल पनि सामान्य घाइते भएका छन् ।

झापाबाट काठमाडौं आउने क्रममा मैनाली चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशामा रहेको ना ४ ख ७६६८ नम्बरको पिकअप भ्यानसँग बर्दिवास नगरपालिका ३ कालापानीमा ठोक्किएको हो । ठक्कर दिने भ्यानका चालक सिन्धुलीको कमलामाई नगरपालिकाका जितबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया