कर्णालीमा ५० करोडको विपद कोष, हजार शैय्याको क्वारेन्टाइन

चैत्र ७, २०७६ | सुर्खेत

कर्णाली प्रदेश सरकारले कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै १ हजार शैय्याको क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कोरोना भाइरस रोकथाम सम्बन्धी परिषदको बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ६ सय र नेपाली सेनाले रेडियो नेपाल हाताभित्र ४ सय शैय्याको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो । 

सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीका अनुसार भारतबाट आउने व्यक्तिलाई स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा राखिनेछ । सबै जिल्लामा समेत अनिवार्य रुपमा क्वारेन्टाइन स्थापना गर्न र स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । भारतबाट फर्केर सीधै गाउँमा पुगेका व्यक्तिलाई पनि स्थानीय स्वास्थ्य संयन्त्रमार्फत जाँच गरिने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । 

प्रदेश सरकारले कोरोना रोकथामको लागि ५० करोड रुपैयाँको विपद व्यवस्थापन कोष समेत स्थापना गर्ने निर्णय गरेको छ । हिमाली तथा पहाडी जिल्लामा कोरोनाको कारण कुनै बिरामीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्थामा आएमा हेलिकोप्टर पनि प्रयोग गरिने मन्त्री केसीले जानकारी दिनुभयो । 

सरकारले सामाजिक विकासमन्त्री दल रावलको संयोजकत्वमा कार्यान्वयन समिति, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा अनुगमन समिति र उद्योग तथा पर्यटनमन्त्री नन्दसिंह बुढाको संयोजकत्वमा आपूर्ति समिति समेत गठन गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो । 

 प्रदेश सरकारले सुर्खेतको विमानस्थल, बबई र कुइने तथा सल्यानको कपुरकोटमा हेल्थ डेस्क स्थापना गरिसकेको छ । चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सामा राख्ने भनिएको हेल्थ डेस्क हिउँ नपग्लिएको कारण यालबाङमा राखिएको छ । 


प्रतिक्रिया