कोरोाना संक्रमित शंकास्पद व्यक्ति भागेर धनकुटा पुगे

चैत्र ९, २०७६ | धरान

– भारतको केरलाबाट नेपाल आएर क्वारेन्टाइनका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्थ डेस्क पुगेका ६ युवा भागेर धनकुटा पुगेका छन् । उनीहरु दक्षिण भारतको केरलाबाट धनकुटास्थित घर फर्कने क्रममा केहीलाई ज्वरो आएपछि उपचारका लागि प्रतिष्ठानमा पुगेका थिए । चिकित्सकहरुले मोरङको टांडीस्थित तयार पारिएको क्वारेन्टाइनमा बस्न सुझाव दिएका थिए । तर उनीहरुले चिकित्सकको सुझाव नमानी सिधै धनकुटा गएपछि भाइरस संक्रमणको जोखिम बढेको छ । उनीहरु रोजगारीको शिलशिलामा केरला पुगेको र कोरोना संक्रमण बढेपछि उनीहरु घर फर्किरहेका थिए । 

प्रतिष्ठानको कोरोना भाइरस र्‍यापिड रेक्पोन्स कमिटिका सदस्य तथा सहायक अस्पताल निर्देशक डाक्टर विकास साहका अनुसार हेल्थ डेस्कमा आएका ६ जना युवामध्ये २ जनामा ज्वरो देखिएको थियो । एक जनामा १ सय दशमलव ८ डिग्री र अर्कोलाई ९९ दशमलव ८ डिग्री ज्वरो देखिएपछि स्वाव परीक्षण गरेर उनीहरुलाई मोरङको टाँडीस्थित नेपाली सेनाले तयार गरेको क्वारेन्टाइनमा पठाउन एम्बुलेन्सको तयारी गर्दैगर्दा ती व्यक्तिहरु आफ्नो घर धनकुटातर्फ सुटुक्क गएका थिए । विदेशबाट आएका व्यक्तिहरु १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । सर्वसाधारणको हितका लागि दिएको आवश्यक राय, सल्लाह सुझाव नमान्ने प्रवृत्ति कोरोना संक्रमण रोकथामको लागि प्रमुख चुनौतीको रुपमा देखिएको चिकित्सकहरुले बताएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न र अरुलाई बचाउन चिकित्सक र सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले लापर्वाही गर्दा यसको जोखिम थप बढ्न सक्ने पनि चिकित्सकहरुले बताएका छन् ।

आशंका गरिएका व्यक्तिहरुले आवश्यक सल्लाह नमान्दा संक्रमणको जोखिम बढेको चिकित्सकहरुले बताएका छन् । प्रतिष्ठानका सहप्रवक्ता डा अशोक ऐयरले कोरोना संक्रमण अत्यन्तै जोखिमको अवस्था भएकोले सर्वसाधारण मानिसहरु आफैं सचेत र जिम्मेवार हुनु पर्ने बताउनुभयो । कोरोना संक्रमण रोकथाम गर्न राज्य र चिकित्सकले मात्र कदम चालेर सम्भव नहुने भएकाले लापर्वाही गर्न नहुने उहाँको भनाई थियो । यसैबीच कोरोना संक्रमण फैलिएर विश्वभर संकट निम्त्याइरहेका बेला पुर्वतयारी अवस्थामा रहनको लागि प्रतिष्ठानले आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई विदामा बस्न रोक लगाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक एवं र्‍यापिड रेस्पोन्स कमिटिका संयोजक प्रा.डा. गौरीशंकर साहले काजकिरियामा बसेको अवस्थाबाहेक अन्य सबै अवस्थामा विदामा बस्न रोकेको उल्लेख गर्नुभयो ।  


प्रतिक्रिया