बागलुङकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि उच्च सर्तकता

चैत्र १५, २०७६ | बागलुङ

कोरोना भाइरस पोजेटिभ देखिएपछि बागलुङकी १९ वर्षीया युवतीलाई थप उपचारको व्यवस्थापन गर्न सुरक्षा समिति र चिकित्सकको बैठक बसेको छ । अन्य जोखिमबाट जिल्लाबासीलाई जोगाउन बैठकले रणनीति अपनाउने छ । 

दुई महिना अघि आमाबाबु भेट्न गएकी ती युवती चैत ४ गते फर्केकी थिइन् । उनी पोखरासम्म बुद्ध एयरको जहाजमा आएर जिपमा जिल्ला फर्केको परिवारका सदस्यले बताए । फर्केपछि उनी अहिलेसम्म घरमै बस्दै आएकी छिन् । सामान्य लक्षण देखिएपछि तीन दिन अघि उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाईएको थियो । 

उनको घरमै गएर डाक्टरले स्वाब संकलन गरेका थिए । अहिले पनि उनी सामान्य अवस्थामा छिन् । आइसीयुमा राख्नुपर्ने अवस्था नभएपनि तत्काल आवश्यक पर्न सक्ने भएकोले चिकित्सकको सल्लाह अनुसार उनलाई काठमाडौं वा पोखरा पठाउने सल्लाह भईरहेको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताउनुभयो ।

 ‘अहिले बिरामीलाई ज्वरो, खोकी र श्वासप्रश्वास समस्या पनि छैन’ पोखरेलले भन्नुभयो, ‘कसरी काठमाडौं लैजाने भन्ने टुंगो लागेको छैन ।’ जटिल अवस्था नभए घरमै पनि उपचार गर्न सकिने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको सुरक्षा समितिको बैठकले युवतीले भेटेका मानिसको खोजी तत्काल गरेर स्वास्थ्य परीक्षणमा लैजाने तयारी गरेको प्रहरी उपरिक्षक नवराज भट्टले बताउनुभयो । संक्रमणको सामान्य लक्षण चार दिन अघि देखिंदा उनलाई घरमै क्वारेन्टाइनमा राखिएको थियो । 

परिवार पनि स्वास्थ्य क्षेत्रको सम्बन्धित भएकोले सुरक्षा अपनाइएको पोखरेलले जानकारी दिनुभयो । अस्पताल र सुरक्षाकर्मीले शनिबार दिउँसो देखिनै युवतीको सम्पर्कमा आएकाहरुको खोजी गरिरहेको छ ।


प्रतिक्रिया