भारतबाट आएका नेपाली दशगजा क्षेत्रमा धर्नामा

चैत्र १८, २०७६ | भैरहवा

नेपाल प्रवेशको अनुमति नपाएर नेपाल-भारतको सीमा नाका सुुनौलीमा अलपत्रमा परेका सयौं नेपाली गएराति देखि धर्नामा छन् । घर जान नदिएको भन्दै उनीहरु गएराति देखि धर्नामा बसेका हुन् । आफूहरु अलपत्र परेपछि नेपाल सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा बस्न तयार रहेको उनीहरुले बताएका छन् । 

दुबै देशमा लकडाउनका कारण नेपालतर्फ आउने अनुमति नपाएपछि भारतको विभिन्न स्थानबाट सुनौली नाकासम्म आइपुगेका सयौं नेपाली विगत तीन दिनदेखि अलपत्रमा परेका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनु्सार, सोमबार राति साढे ९ बजेदेखि उनी संगठित भएर दशगजामा धर्नामा बसेका हुन् । 

महिला र बालबच्चा सहित करीब ४ सय जना गएराति एकैसाथ नाकाबाट नेपाल प्रवेश गर्न लाग्दा नेपालतर्फ तैनाथ सुरक्षाकर्मीले रोकेका थिए । त्यसपछि उनीहरु धर्नामा बस्न थालेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले उनीहरुलाई छाड्ने बारेमा कतैबाट पनि निर्देशन नआएकाले नेपाल आउने अनुमति नदिइएको बताउनुभयो । 

उहाँका अनुसार, यस विषयमा प्रदेश र संघीय सरकारबाट पनि कुनै निर्णय आएको छैन । सीमानामा आएका नेपाली र उनीहरुको अवस्थाका बारेमा आफूले गत आइतबार नै गृह मन्त्रालयमा जानकारी गराएको उहाँको भनाई थियो । 

सीमा नाका आइपुगेका नेपालीले भने भारतमा बस्ने र खाने व्यवस्था ननभएपछि आफूहरु बाध्य भएर नेपाल फर्किनु परेको बताएका छन् । आफूहरु कार्यरत कम्पनी पनि बन्द भएपछि त्यहाँ बस्न नदिएका कारण नेपाल फर्किनु परेको उनीहरुको गुनासो छ । 


प्रतिक्रिया