चितवनमा हालसम्म ५० जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

चैत्र १८, २०७६ | चितवन

कोरोना भाइरस कोभिड–१९ संक्रमणको आशंकामा चितवनमा ५० जना व्यक्तिहरुको परीक्षण भइसकेको छ । जसमध्ये अहिलेसम्म सबैको रिपोर्ट नेगेटिभ अर्थात संक्रमण नभएको पाइएको छ । भरतपुरको सरकारी अस्पताल र भरतपुरकै कोरोना विशेष अस्थायी अस्पतालले परीक्षणका लागि व्यक्तिबाट स्वाब संकलन गरेर काठमाडौंको केन्द्रीय प्रयोगशालामा नमुना पठाउँदै आएका छन् । 

कोरोना विशेष अस्थायी अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीका अनुसार यो अस्पतालबाट हालसम्म ३० वटा नमुनाको परीक्षण नतिजा आएको छ । जसमा सवैको नतिजा कोरोना संक्रमण नभएको भन्ने छ । त्यसै गरी भरतपुरको सरकारी अस्पतालले पठाएको २० वटा नमुनाको परीक्षण नतिजा प्राप्त भएको सो अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

भरतपुर अस्पतालले माघ १८ गते कोरोना उपचारका लागि पाँच शैय्याको आइसोलेसन वार्ड बनाएको थियो । अस्पतालबाट परीक्षणका लागि पाँचजना चिनियाँ नागरिकको समेत स्वाब संकलन भएको थियो । त्यसैगरी चैत्र ७ मा भरतपुरमा कोरोना विशेष अस्थायी अस्पताल सुरु भएको थियो । यो अस्पतालले नमुना पठाएकोमा पाँचजना व्यक्ति कतार एयरवेजबाट आएका यात्रुहरु समेत थिए ।

सो एयरवेजमा आएकामध्ये दुई जनालाई संक्रमण भएको पुष्टि भएको थियो । तर, चितवनका पाँचै जनामा परीक्षण गर्दा संक्रमण भएको पाइएन । कोरोना विशेष अस्पतालले पठाएकोमध्ये ११ जनाको नतिजा आउन बाँकी छ । जसमा ६ महिनाको एकजना शिशु पनि छन् । 

विदेशबाट आएका आफन्तसँग भेट भए लगत्तै ज्वरो आएपछि बच्चालाई पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालको पिआइसीयूमा राखेर उपचार गरिएको छ । बच्चा र उनलाई भेटेका दुवैजना आफन्तको स्वाब परीक्षणका लागि पठाएको डा.अधिकारीले जानकारी दिनुभयो ।  


प्रतिक्रिया