उद्योग संघद्वारा खाद्यान्न सहयोग

चैत्र ३०, २०७६ | हेटौडा

उद्योग संघ मकवानपुरले आज जिल्ला समन्वय समितिलाई खाद्य सामग्री उपलब्ध गराएको छ । संघका अध्यक्ष लेखराज पोखरेल लगायत पदाधिकारीले हेटौंडा औद्योगिक क्षेत्रमा रहेका उद्योगी व्यवसायीबाट सकंलित खाद्य समाग्री जिसस प्रमुख रघुनाथ खुलाललाई हस्तान्तरण गरेका हुन् । 

संघले १० हजार किलो चामल, चार सय किलो दाल, चार सय किलो नुन, चार सय वटा साबुन र २० लिटर सेनिटाईजर जिल्ला समन्वय समितिलाई उपलब्ध गराएको हो । लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारका लागि खाद्यान्न सहयोग गरेको संघका अध्यक्ष पोखरेलले बताउनुभयो । 

अप्ठ्यारो अवस्थामा सामाजिक उत्तरदायित्व सम्झेर राहत स्वरुप जिल्लावासीका लागि खाद्यान्न उपलब्ध गराईएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समिति मार्फत सम्पूर्ण जिल्लावासीमा राहत पुग्ने हुनाले सामग्री जिससलाई हस्तान्तरण गरिएको थियो । 

 लकडाउनको समयमा दैनिक जीवन यापन गर्न समस्या भएकालाई स्थानीय तह मार्फत एकद्धारा प्रणालीबाट प्राप्त खाद्यान्न वितरणको व्यवस्था गर्नेसमेत प्रमुख खुलालले बताउनुभयो । यसअघि उद्योग परिसंघ बागमती प्रदेश समितिले पनि प्रदेश सरकार मार्फत जिसस महासंघ बागमती प्रदेश अध्यक्ष एवम् जिसस मकवानपुर प्रमुख खुलाललाई १० हजार किलो खाद्यान्न सहयोग गरेको थियो ।


प्रतिक्रिया