‘विषाक्त रक्सी’ सेवनले ११ को मृत्यु

वैशाख २०, २०७७ | महोत्तरी

महोत्तरी — महोत्तरीको उत्तरपूर्वी दुई बस्तीमा १० दिनका बीचमा ११ जनाको मृत्यु भएको छ । ‘विषाक्त रक्सी’सेवनका कारण मृत्यु भएको आशंकामा उनीहरुको भिसेरा संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको छ । शनिबार मात्रै दुई जनाले ज्यान गुमाएका छन् ।

महोत्तरी, भंगहा नगरपालिका–७ को मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका–१२ को अहिमान बस्तीका ११ जनाको एकपछि अर्को गर्दै मृत्यु भएपछि दुवै बस्तीमा शोक छाएको छ । यी एकअर्कामा जोडिएका बस्ती हुन् । लगालग बस्तीका मानिसहरुको मृत्यु हुन थालेपछि गाउँमा त्रास फैलिएको छ ।

प्रदेश २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार उनीहरुको विषाक्त रक्सीले मृत्यु भएको आशंकामा भिसेरा परीक्षण गर्न लागिएको हो । ‘मृत्यु हुने अधिकांशको उमेर ४५ वर्षमाथि छ । केहीको हृदयघात भएर पनि मृत्यु भएको देखिन्छ,’ डीआईजी सिंहले कान्तिपुरसँग भने, ‘भिसेराको रिर्पोट आएपछि मात्रै मृत्युको कारण पत्ता लाग्छ । अनुसन्धानमा प्रहरी खटिएको छ ।’

विषाक्त रक्सी सेवनले मृत्यु भएको आशंका गरिएकामा ४५ वर्षीय मोहन चौधरी, ५५ वर्षीय गंगाराम सदा, ५० वर्षीय लालबाबु सिंह, ५५ वर्षीय महेन्द्र चौधरी, ५० वर्षका नथुनी महरा, ३५ वर्षीय सिकेन्द्र पासवान र सुकदेव महरा छन् ।

बर्दिवास–१२ मा शुक्रबार ५५ वर्षीया मोमनीदेवी सरदार र २६ वर्षीय सोपिन्द्र मण्डलको पनि मृत्यु भएको छ । शनिबार भंगहा–६ का ४८ वर्षीय पलट साह र ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापतिको मृत्यु भएको थियो । प्रजापति इँटा उद्योगका काम गर्थे । अचानक बेस्सरी पेट दुख्ने, झाडापखाला चल्ने र बान्ता गर्ने लक्षण देखिएलगत्तै उनीहरुको मृत्यु भएको हो ।


प्रतिक्रिया