किट अभावमा भारतबाट आएका नेपालीको कोरोना परीक्षणमा समस्या

जेष्ठ २, २०७७ | भैरहवा

कोरोना परीक्षणका लागि आवश्यकता अनुरुपको किट उपलब्ध नहुँदा रुपन्देहीको सुनौली नाका हुँदै भारतबाट ल्याइएका नेपालीको परीक्षणमा समस्या भएको छ । भारतको नौतनवास्थित क्वारेन्टाइनमा रहेका ४ सय ९५ जना नेपालीलाई गत बुधबार स्वदेश ल्याएर सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । 

उनीहरुको पीसीआर विधिबाट परीक्षण गरेर रिपोर्ट नेगेटिभ देखिएमा मात्रै सम्बन्धित जिल्लामा पठाएर व्यवस्थापन गर्नुपर्ने हुन्छ । किट अभावकै कारण भारतको नौतनवास्थित क्वारेन्टाइनमा दुई हप्ता भन्दा धेरै समय बिताएका अन्य नेपालीलाई पनि स्वदेश ल्याएर व्यवस्थापन गर्न सकिएको छैन । 

क्वारेन्टाईनमा दुई हप्ताको अवधि पूरा गरेका नेपाली नौतनवामा करीब ५ सयको संख्यामा छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले पीसीआर परीक्षणका लागि आवश्यकता अनुरुप किट नहुँदा उनीहरुको व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो । 

किट जति छिटो उपलब्ध हुन्छ उतिनै विदेशबाट घर आएका नेपालीलाई स्वदेश ल्याइ व्यवस्थापन गर्न सहज र छिटो हुने पन्थले बताउनुभयो । नौतनवाबाट ल्याइएका र अब ल्याउनु पर्ने नेपालीको परीक्षणका लागि कम्तीमा पनि २ हजार ५ सय थान पीसीआर किटको आवश्यकता रहेको उहाँले बताउनुभयो । तर, बिहीबार ३ सय मात्रै किट आइपुगेको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया