गड्डाचौकीबाट शनिबार ३७ सय बढी भित्रिए

जेष्ठ १७, २०७७ | कञ्चनपुर

कञ्चनपुरको गड्डाचौकी नाकाबाट शनिबार ३७ बढी नेपालीहरु भित्रिएका छन् । सशस्त्र प्रहरीको ३५ नं. गणका अनुसार आज ३७ सय ४६ जना भित्रिएका हुन् । भारतमा अलपत्र परेका नेपालीहरुलाई गड्डाचौकी नाकाबाट भित्र्याउन सुरु गरेयता शनिबार सबैभन्दा बढी भित्रिएका हुन् । 

३५ नं. गणका एसपी वीर सिंह साहुका अनुसार दशगजामा पुगेका सबैलाई आ–आफ्नो जिल्लातर्फ पठाउने काम भईरहेको छ । कञ्चनपुर जिल्लाकालाई पनि सबै स्थानीय तहको क्वारेण्टाइनमा पठाउने काम भईरहेको उहाँले बताउनुभयो । 

गड्डाचौकी नाकाबाट शुक्रबार २७ सय ७८ जना भित्रिएका थिए । बिहीबार २४ सय ५ र बुधबार १५ सय ८५ जना भित्रिएका थिए । भारतबाट अवैध नाका भएर लुकिछिपी आउनेका कारण संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले जेठ १२ देखि गड्डाचौकी नाकाबाट नेपालीलाई भित्र्याउन सुरु गरेको हो । 

नाका खुला गरिएको पहिलो दिन सोमबार २७ सय बढी र दोस्रो दिन मंगलबार ६९५ नेपाली भित्रिएका थिए । यो नाकाबाट भित्रिने सबैलाई दशगजामै विवरण संकलनका साथै स्वास्थ्य जाँच गरेर त्यहिंबाट सीधै सम्बन्धित जिल्लातर्फ पठाउने गरिएको छ । उनीहरुलाई क्वारेण्टाइनमै राख्ने गरी पठाइएको प्रशासनले जनाएको छ । 


प्रतिक्रिया