कर्णाली प्रदेशका ४३ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ १९, २०७७ | जुम्ला

कर्णाली प्रदेशमा आइतबार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा आइतबार गरिएको पीसीआर परीक्षणमा ४३ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

भारतबाट आएर कर्णाली प्राविधिक शिक्षालयमा रहेको क्वारेन्टाइनमा बसेका जुम्लाका १९ र दैलेखका २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । जुम्लाको हिमा गाउँपालिकाको वडा नं. १ का ३६, ६३ वर्षीय पुरुष, वडा नं. ५ का २६, २३, ४३, ४६ वर्षीय पुरुष, वडा नं. ६ का २३, वडा नं.७ का ५९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । 

सिंजा गाउँपालिकाका वडा नं. ३ का २४ वर्षीय पुरुष, वडा नं. ५ का २६, ३६ वर्षीय पुरुष, वडा नं. ६ का ४५, ३१ र १२ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै, क्वारेन्टाइनको सुरक्षामा खटिएका जिल्ला प्रहरी कार्यालयका ३४ र २७ वर्षीय दुई सुरक्षाकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । 

पीसीआर परीक्षणबाट पहिलो पटक जुम्लाका २ सुरक्षाकर्मी सहित १९ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । आइतबार गरिएको परीक्षणमा दैलेखका २४ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालको प्रयोगशालाका इन्चार्ज विवेक पुनले बताउनुभयो ।

क्वारेन्टाइनमा बसेकासँगै सुरक्षाकर्मीमा समेत कोरोना भाइसको संक्रमण देखिएकाले सबै सर्तक हुनुपर्ने प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताउनुभयो । दैलेखमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालबाट पब्लिक हेल्थका विज्ञ सहित ५ जना चिकित्सकको टोली आइतबार त्यसतर्फ पठाइएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पब्लिक हेल्थका विज्ञहरुले क्वारेन्टाइनमा बसेकाहरुलाई मोटिभेट गर्ने र चिकित्सकले स्वास्थ्य सेवा दिने छन् । लक्षण देखिएका र अस्पताल ल्याउनुपर्ने खालका संक्रमितलाई अस्पतालमा ल्याए उपचार गर्न सम्पूर्ण तयारी पूरा गरेको छ ।’

क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना पोजेटिभ देखिएपछि कर्णाली प्राविधिक शिक्षालयलाई सिल गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ । भारतबाट पछिल्लो समय जिल्ला भित्रिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । जिल्लाका ८ वटै स्थानीय तहको एकीकृत क्वारेन्टाइन बनाइएको स्थल कर्णाली प्राविधिक शिक्षालयमा ठाउँ नभएपछि भारतबाट आएका अन्य मानिसहरुलाई राख्न समस्या भएको छ । 

खलंगा बजारमा रहेका विद्यालयहरुमा स्थानीयले क्वारेन्टाइन बनाउन दिएका छैनन् । क्वारेन्टाइन नहुँदा समस्या भएको छ । आइतबार साँझ मात्रै दुई गाडीमा जुम्ला भित्रिएका मानिसलाई ब्यवस्थापन गर्न स्थानीय तहहरुलाई हम्मे हम्मे भएको छ । 


प्रतिक्रिया