खोटाङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2020/health/corona-0142020110119-1000x0.jpg&w=700&height=600)
जेष्ठ २२, २०७७ | खोटाङ
खोटाङमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनी डाडाँका २१ वर्षीय दुई जना पुरुष र वडा नं ५ दुर्छिमका ४५ वर्षीय एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।
विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि गरेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताउनुभयो । संक्रमित तीन जना जेठ दोश्रो साता भारतबाट आएका थिए ।
उनीहरुको अवस्था सामान्य रहेको जिल्ला अस्पतालका चिकित्सक शैलेष श्रेष्ठले बताउनुभयो । उनीहरुमध्ये बाहुनीडाडाँका २१ वर्षीय दुई जना जेठ १५ गते र दुर्छिमका ४५ वर्षीय जेठ १६ गते घर आइपुगेका हुन् ।
उनीहरुमध्ये २१ वर्षीय युवाहरु भारतको कानपुरबाट र ४५ वर्षीय भारतकै गोरखपुरबाट आएका हुन् । उनी गोरखपुरको क्वारेन्टिनमा २८ दिन बसेर आएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार भगतले बताउनुभयो ।
बाहुनीडाडाँका दुई युवा बाहुनीडाडाँक्वारेन्टिनमा र ४५ वर्षीय पुरुषलाई दुर्छिमस्थित स्वास्थ्य चौकी भवनमा बनाइएको क्वारेन्टिनमा राखिएको थियो । उनीहरुलाई कोभिड–१९ अस्पताल विराटनगरमा पठाउने तयारी भईरहेको प्रजिअ पौडेलले बताउनुभयो ।
हलेसी तुवाचुङ नगरपालिकाका ३३ जनाको पीसीआर परीक्षणका लागि यही जेठ १६ गते कोशी अस्पताल पठाइएको थियो । यसअघि पनि हलेसी तुवाचुङ नगरपालिका–७ का २० वर्षीय युवामा कोरोना संक्रमण भएको थियो । उनको कोभिड–१९ अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।